सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु


  •    न्युजभित्तो/४ कार्तिक २०८२, सोमबार ११:०७ 
  • नवलपुर (नवलपरासी), ३ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

    कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

    मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । “सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ” उहाँले भन्नुभयो, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।” जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले सङ्क्रमितमध्ये नौ जना पूर्णरुपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिलाई सिधँै मष्तिष्कमा असर गर्ने भएकाले उनीहरुको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ ।” सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका– ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक÷एकजना रहेका उहाँले बताउनुभयो ।

    “जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ” उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरुको अवस्था सामान्य छ ।”

    सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उहाँले जानकारी दिनुभयो । तिवारीकाअनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको तिवारीको भनाइ छ । जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने उहाँले बताउनुभयो ।

    यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो ।

    यसैबीच, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले जिल्लामा सबैभन्दा बढी कावासोतीमा यो रोग देखिएको भन्दै यसको न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले पालिकाभित्रका टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी एवम् नागरिक समाजको माध्यमबाट जापानिज इन्सेफलाइटिस रोग र यसबाट जोगिने उपायको बारेमा सचेता फैलाइएको बताउनुभयो ।

    लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुङ्गुर–बङ्गुरको खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने भुर्तेलको भनाइ छ ।

    प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.