सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै


  •    न्युजभित्तो/२६ आश्विन २०८२, आईतवार ११:३६ 
  • ढोरपाटन (बागलुङ), २६ असोज । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्नुहुन्छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ ।

    मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थाल्नुभएको हो । अहिले उहाँले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवान्लाई चढाउने रोट मल्ले बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् ।

    डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नुभएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवललगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजाअर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकामा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुनुहुन्छ । भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ भन्ने उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउनुहुन्छ ।

    पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनुपर्ने उहाँले बताउनुभयो । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादका रूपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुईतीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि चढाउन थालेका उहाँले सुनाउनुभयो ।

    “कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनुपर्छ भन्ने सोचको विकास भएको छ”, मल्लले भन्नुभयो, “यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरूकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनुपर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थिति बस्दैछ ।”

    मल्ले रोट बनाउन थालेपछि सुरुमा बिक्री हुँदैनथ्यो । उहाँलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्र रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउनुहुन्छ । मल्लले दसैँ अवधिमा मात्र रु दुई लाखको रोट बिक्री गर्नुभयो । हरेक दिन ५० देखि १०० रोट बिक्री हुने उहाँले सुनाउनुभयो ।

    चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । प्रतिगोटा रोटलाई चार सयका दरले बिक्री गर्ने गरेको मल्लले सुनाउनुभयो । वार्षिक रु सात लाखबराबरको रोट बिक्री हुने उहाँको भनाइ छ । रोट बिक्री गरेर भगवान्को सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताउनुभयो ।

    पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.