सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नभुल्ने नियात्रा : जिरीसम्मको यात्रा


  •    न्युजभित्तो/५ जेष्ठ २०८२, आईतवार १७:१८ 
  • जिरी, दोलखा । एक महिनाअघिको कुरा हो– प्रेस चौतारी बागमती प्रदेशको दोस्रो पूर्ण बैठकका लागि अध्यक्ष तिलक रिमालबाट जिरी जान निमन्त्रणा आएको थियो । म स्वयम् यस संस्थाको निवर्तमान अध्यक्ष भएकाले निम्तोले औपचारिकता मात्र नभई पुरानो एक अधकल्चो रहर पूरा गर्ने अवसर पनि ल्याएको थियो । झन्डै पाँच वर्षअघि एक रातका लागि पुगेको जिरी–राति अबेर पुगिएको, बिहानै फर्किएको त्यो अधुरो अनुभव यो पटक प्रगाढ र सशक्त बन्ने सम्भावनासहित फेरि जुरेको थियो ।

    चितवनबाट ११ जना पत्रकारको टोलीले वैशाख २७ गते बिहान ५ बजे यात्रा शुरू गर्‍यो । हेटौँडामा चिया, सिन्धुलीमा खाना, मन्थलीमा दहीमोही खाएर विश्राम गर्दै साँझ ५ बजे जिरी पुगियो । यात्राको थकान त थियो, तर त्यहाँ पुग्नेबित्तिकै शुरू भएको बैठकले त्यसलाई छायाँमा पारेको थियो । यार्सा होटलमा आयोजना गरिएको बैठक राति १० बजे सम्पन्न भयो । प्रमुख नेताहरूको उपस्थिति, उत्साहपूर्ण सहभागिता र आगामी कार्ययोजनाहरूको निर्माणले बैठकलाई ऐतिहासिक बनायो ।

    भोलिपल्ट बिहान हामीले जिरी बजारको अवलोकन गर्‍यौँ । सरकारी निकायहरू, गाई फार्म, प्राविधिक शिक्षालयजस्ता क्षेत्र घुम्यौँ । जिरी नजिकैको वरपर घुम्दा यहाँको भौगोलिक बनावट, जीवनशैली, सांस्कृतिक विविधता, पर्यटकीय सम्भावना र आर्थिक क्रियाकलापप्रति गहिरो रुचि जाग्यो ।

    समुद्री सतहदेखि १,६४९ मिटरदेखि ५,३४१ मिटर उचाइसम्म फैलिएको, २११ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो नगरपालिका बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित छ । यहाँ क्षेत्री, जिरेल, शेर्पा, तामाङलगायत विभिन्न जातजातिको सहअस्तित्व छ जसले जिरीलाई बहुसांस्कृतिक समुदायको उत्कृष्ट नमूना बनाएको छ ।

    यहाँको प्रमुख व्यवसाय कृषि र पशुपालन हो । अर्गानिक उत्पादनको क्षेत्रमा पनि जिरी अग्रणी छ । ‘क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी’ भन्ने नारामा प्रतिबद्ध यो नगरले अकबरे खुर्सानी, रायोको साग, किवी, आलु, याक चिज, छुर्पी, अर्गानिक पिठो, नौनी, गुन्द्रुक, स्थानीय मदिरा आदि उत्पादनहरूलाई विशेष पहिचान दिलाएको छ । यी उत्पादन पर्यटकहरूका लागि लोकप्रिय कोसेलीको रूपमा पनि प्रख्यात छन् ।

    सगरमाथा आरोहणको इतिहासमा जिरीको विशेष स्थान छ । सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले जिरी हुँदै सगरमाथा आरोहण यात्रा शुरू गरेका थिए । त्यसैकारण जिरीलाई ‘सगरमाथाको प्रवेशद्वार’ भनेर चिनिन्छ । लुक्ला विमानस्थल अस्तित्वमा आउनुभन्दा अघिसम्म सबै पदयात्रीहरूले जिरी हुँदै सगरमाथा यात्रा शुरू गर्थे । आज पनि पदयात्राको चासो राख्नेहरूका लागि जिरी–लुक्ला–नाम्चे मार्गले ऐतिहासिक र साहसिक महत्त्व बोकेको छ ।

    जिरीमा पर्यटक आकर्षणहरू थुप्रै छन् । जस्तै– तेन्जिङ–हिलारी पार्क, बुद्धपार्क, टोनी हेगन पार्क, ल्वासा गुम्बा, यलुङ गुम्बा, स्टोन पार्क, हलेश्वर महादेव, जिरेश्वरी मन्दिर, राम्बोले काली मन्दिर, लौती झरना, जातुङ्गा झरना, रेन्वो ट्राउट फार्म, आविथान मन्दिर, पाँचपोखरी र जटापोखरी आदि । च्योर्दोङ डाँडा (३, ६९० मि) सम्मको पदयात्रा, चिज कारखाना भ्रमणजस्ता अनुभवले पर्यटकलाई ग्रामीण सौन्दर्य र हिमाली जीवनशैलीमा डुबाउँछ । त्यसमाथि गुराँसपार्कमा फुल्ने १५ भन्दा बढी प्रजातिका गुराँसहरूले वसन्तको आगमन झल्काउँछन् ।

    जिरीमा रहेको ‘नेपालकै एक मात्र सरकारी गाई आनुवांशिक स्रोत केन्द्र’ पशुपालन तथा पशु विज्ञान अध्ययनका लागि गम्भीर चासो राख्नेहरूका लागि एक महत्त्वपूर्ण गन्तव्य हो । त्यस्तै जिरी प्राविधिक शिक्षालय प्राविधिक शिक्षा र व्यावसायिक तालिमको केन्द्रक रूपमा विकसित भइरहेको छ । यी संस्थाहरूले जिरीलाई केवल पर्यटकीय गन्तव्य नभई ‘शिक्षा र कृषि–पशुपालन अनुसन्धान केन्द्र’ का रूपमा पनि परिचित गराइरहेका छन् ।

    हाम्रो यात्राको रोचक पक्षहरूमध्ये एक थियो– सहयात्रीहरूको आत्मीयता र हाँस्यरस । दीपेन्द्र अधिकारीका प्रस्तुति, रामेश्वर रिजालका प्रवचन र क्यारिकेचर, रामकान्त पौडेलका गीत–सङ्गीतले बाटोको थकान केही महसूस हुन दिँदैनथ्यो । म स्वयम् सिन्धुलीका घुम्ती बाटोहरूमा बान्ता गर्दै आएको यात्रु हुँ, तर यसपटक हाँसोमै बाटो हरायो– बान्ता भएन ।

    फर्किने क्रममा मैनापोखरी नजिकै फलेका ऐँसेलु टिपेर खाइयो । त्यसपछि मन्थलीमा मोही, सिन्धुलीमा खाजा र हेटौँडामा खाना खाएर चितवन फर्किँदा रातको १ बजेको थियो । फर्किने बाटो उस्तै फरकिला भए पनि, पातलो ट्राफिक र हरियाली फाँटहरूले यात्रालाई विश्रामदायक बनाएका थिए । मन्थलीको अत्यधिक तापक्रम अलिक असहज लागे पनि त्यसका फाँटहरूले त्यो गर्मी भुलाइदिए ।

    जिरी यात्राबाट मैले के मात्र लिएँ भने– प्राकृतिक सौन्दर्यको अनुभूति, ऐतिहासिक मर्म, कृषि र शिक्षा प्रणालीको अवलोकन, रमाइलो सहयात्रीहरूको सङ्गत, अनि भूगोलसँग जोडिएको आत्मिक सम्बन्ध । जिरीले देखायो– नेपालका आन्तरिक गन्तव्यमा पनि अनगिन्ती विशेषता छन् जुन नहेरेसम्म कल्पनामा मात्र सीमित रहन्छन् । त्यो कल्पनालाई वास्तविकतामा परिणत गर्न जिरी पुगेपछि थाहा हुन्छ– यस नगरको भूमि, पानी, संस्कृति र आत्मा नै छुट्टै गन्ध बोक्छ । त्यसैले यो यात्रा केवल संस्थागत जिम्मेवारी थिएन, यो जीवनको एउटा न्यानो, रङ्गीन, अनुभव सम्पन्न अध्याय थियो– नभुल्ने नियात्रा : जिरीको यात्रा ।

    राधेश्याम खतिवडा 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.