सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका केराले पाउन थाल्यो बजार


  •    न्युजभित्तो/२५ बैशाख २०८१, मंगलवार १५:३१ 
  • चितवन, २५ वैशाख । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन् ।

    उनले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । उनले भने, ‘विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।’ यहाँको केराले बजार धान्ने अवस्था रहँदा पनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उनले बताए । केरामानै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको बताउँछन् ।
    अझै थप पाँच बिघा क्षेत्रफलमा केरा खेती विस्तारका लागि काम गर्दै आएको उनले सुनाए । केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताए । भारतीय केराका कारण यहाँको उत्पादन विस्थापित हुने हो की भन्ने चिन्ता रहँदै गर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि आफूहरुलाई राहत मिलेको उनको भनाइ थियो । रत्ननगरका विष्णुप्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताए । उनले भने, ‘सिँचाइ सुविधा भएको ठाउँमा त ठिकै होला तर हामीजस्ता १(२ बिघा क्षेत्रमा केरा लगाउने किसानलाई खडेरीले असर गरेको छ ।’

    केरामा मल हाल्नका लागि आकाशे पानी कुरेर बस्न परेको उनको भनाइ थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भए पनि उत्साह भने भई हाल्ने स्थिति नभएको बताउँछन् ।

    यहाँ उत्पादन भएका मालभोग र जी नाइन जातका ठूला साइजका सग्ला केरा बिक्रीमा समस्या नभए पनि साना साइजका केरा भने नबिकेको उनको भनाइ छ । लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उनले भने, ‘धेरै साथीहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन ।’

    भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उनको भनाइ थियो । जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुवै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिए ।

    यद्यपि, लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उनले बताए ।

    कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताए । उनले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उनले जानकारी दिए । यस समयमा नेपाली केराले बजार धान्ने उनको भनाइ थियो । उनका अनुसार जिल्लामा वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.