सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलोले वन जलाएपछि सालको पात बेचेर दैनिक घर खर्च जुटाउने नरकुमारीको मनपनि जल्यो


  •    न्युजभित्तो/१९ बैशाख २०८१, बुधबार १५:५९ 
  • खोटाङ, १९ वैशाख । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।

    आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उहाँ चिन्तित हुनुहुन्छ ।
    नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।

    पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउनुभयो । “एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल सखाप पार्‍यो”, उहाँले भन्नुभयो, “सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।”
    त्यसो त रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आउनुभएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् ।

    गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ ।
    सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो । उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो । “जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,” उहाँले भन्नुभयो, “काठमाडौँको तीन÷चारवटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार ग¥यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।”
    छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो । ऋण तिर्न विदेश जानुभएका श्रीमान् दुर्घटनामा परी उतै घाइते हुनुभयो । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।

    नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा हुनुहुन्छ । ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुग्नुभएका दानबहादुर सात महिना नबित्दै लडेर घाइते हुनुभएको हो । काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराउनुभएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।
    “कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ”, गहभरी आँसु पार्दै उहाँले भन्नुभयो, “बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ–धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।”

    छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उहाँलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ । कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.