सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी


  •    न्युजभित्तो/१३ बैशाख २०८१, बिहीबार १६:३३ 
  • काभ्रेपलाञ्चोक, १३ वैशाख । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका पाँच हजार पाँच सयभन्दा बढी स्थानीयका घरघरमा सोही नदीको पानी पाइपबाट ‘अविरल’ खानेपानीका रूपमा आउँदो साउन महिनामा घरघरमा पुर्याइने भएको हो ।

    टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो । विसं २०७८ असारमा बृहत् खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गर्दै सोही वर्षको साउनदेखि निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल करिब ८० प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताउनुभयो ।

    नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये करिब आधा बजेट आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको थियो । “आयोजनाको भौतिक काम तीव्र रूपमा भइरहेको छ, निर्धारित समयमै सम्पन्न हुने देखिएको छ, साउन महिनाभित्र स्थानीयका घरघरमा खानेपानी पुग्दैछ”, अध्यक्ष तामाङले भन्नुभयो ।

    लामाका अनुसार आयोजना तीन वर्षमा सक्ने समयसीमा हो । शर्मा–लामा–रमण जेभी निर्माण कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

    उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार सङ्कलन गरिएको थियो । मण्डनदेउपुर नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड सम्झौता गरिएअनुसार रु ५१ लाख ६६ हजारको सम्झौता भएको लामाले बताउनुभयो ।

    मण्डनदेउपुर–१० की वृद्धा पञ्चमाया तामाङले घरमा खानेपानी आउने भएपछि निकै खुसी लागेको बताउनुभयो । “घरमै पानी आएपछि पँधेरो र कुवा धाउनु नपर्ने हुँदा हामी निकै खुसी भएका छौँ”, उहाँले भन्नुभयो । उहाँले यसअघि भूकम्पले नजिकको पानीको मूल सुक्दा आधा घण्टाको बाटो हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता भएको बताउनुभयो ।

    हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अन्य दुईवटा निर्माण हुने समवेलअन्तर्गत नारिमखर्कमा धमाधम निर्माण भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र ९ट्रिटमेन्ट प्लान्ट०को निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावती नदीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

    यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ । यस्तै खानेपानी आयोजनाको कार्यालय भवन निर्माण सकिएको छ ।

    पानी लिफ्टिङका लागि चारवटा पानी तान्ने पम्प आएपछि वैशाख महिनाभित्र पानी परीक्षण गरिने जनाइएको छ । आयोजनाको मुख्य पाइप लाइन ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइप लाइन बिच्छ्याउने काम भइरहेको छ । वितरण पाइप लाइन एक सय ५४ किलोमिटर हुनेछ भने समग्रमा कुल एक सय ८० किलोमिटर पाइप लाइनको हुनेछ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

    आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । आयोजना सम्पन्न भएपछि नौ वर्षअघिको भूकम्पले पानीका मूल सुकाएर खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दा खानेपानी अभावबाट उन्मुक्ति पाउने आशामा रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.