सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलोका कारण वायु प्रदूषणः बिरामी बढे


  •    न्युजभित्तो/७ बैशाख २०८१, शुक्रबार १४:०९ 
  • म्याग्दी, ७ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    सिमलचौरलगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तुँवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले दैनिक ३० जनाभन्दा बढी बिरामी वायु प्रदूषणबाट ग्रस्त भएका भेटिएका छन् । चैतदेखि वैशाख पहिलो सातासम्म म्याग्दीका ७५ भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा डढेलो लागेपछि धुवाँ र तुवाँलोका कारण वातावरण विषाक्त बनेको तथा बिरामी हुनेक्रम पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    एक साताअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुका साथै जङ्गली जनावर बासस्थान छाडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतङ्कित भएका स्थानीयले बताएका छन् ।

    सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन नसकेको स्थानीय भीमबहादुर रिजालले बताउनुभयो ।

    यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो दरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

    सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधन नष्ट गर्ने गरिएको छ ।

    डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरणसहितको सामग्री व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ । जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ ।

    डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उहाँको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उहाँले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.