सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्राफिकका सास्ती-पानीदेखि शौचालय मागेरै


  •    न्युजभित्तो/२८ चैत्र २०८०, बुधबार १५:०६ 
  • काठमाडौँ, २८ चैत । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उहाँका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उहाँ बताउनुहुन्छ । “देख्नका लागि मात्रै सुरक्षित छौँ”, उहाँ भन्नुहुन्छ ।

    नायँबानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न ‘पिक आवर’ समयमा हम्मेहम्मे छ । गोविन्दका अनुसार बिहान र बेलुका सवारीको चापले पानी खाने समेत फुर्सद हुँदैन । तिर्खाएर रन्थनिँदा कहिलेकाहीँ पानीकै अभाव हुन्छ । आँखामा चस्मा त छ, छिनछिनमै धुलोले भरिन्छ । उहाँ ट्राफिक व्यवस्थापन गर्दा घरी चस्माको धुलो पुछ्नुहुन्छ त घरी धुलाम्मे लुगा टक्टक्याउनुहुन्छ । बिहान सफा लगाएको कपडा बेलुका मैलो हुन्छ ।

    उपत्यकाभित्रका मुख्य चोकमा खटिएका प्रहरी ट्राफिकका आ–आफ्नै कथा र व्यथा छन् । धुलो, धुँवासित जुध्नुका साथै सर्वसाधारणका दुव्र्यवहार पनि खेप्नुपर्छ । थापाथलीमा खटिएकी ट्राफिक प्रहरी अन्जु नेपालीका अनुसार सिट्ठी, हात दुवैको सहायताले नियम विपरीत चलेका सवारी साधन रोक्दा चालकले अटेर गर्ने गरेको अनुभव सुनाउनुहुन्छ । “सवारी रोकिहाले पनि दोहोरोतेहोरो कुरा गरेर झगडा गर्न खोज्छन्”, मञ्जु थप्नुहुन्छ, “तर पुरुष ट्राफिकसँग यस्तो अटेरी कम हुन्छ ।” ट्राफिक महिला भएकै कारण उहाँले पेसागत रुपमा सहनुपर्ने पीडा थुप्रै छन् ।

    घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन । कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउनुहुन्छ । थापाथली चोकमा कार्यरत उहाँले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ । “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उहाँले बताउनुभयो, “सधैँभरि अरूको शौचालयमा जाँदा निकै असजिलो महसुस हुन्छ ।” सेनिटरी प्याड फेरेर कहाँ फाल्ने रु उहाँले यस्ता स–साना तर स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महिला ट्राफिकका समस्या रहेको सुनाउनुभयो । शौचालयकै झन्झटले पानी पर्याप्त खान नसकिने उहाँ बताउनुहुन्छ ।

    थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती हुनुहुन्छ । उहाँ तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिइरहनु भएको छ । गर्भ बढ्दै गएपछि उहाँलाई काममा खटिन अलिक चुनौती थपिँदै गएको बताउनुहुन्छ । केही साताअघि मात्रै चोकमा ड्युटीमा कार्यरत वर्षालाई रिङ्गटा लाग्यो । उभिएर चर्को घाममा काम गर्दा उनको शरीर थामिएन । “रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,” उहाँ भन्नुहुन्छ, “केहीबेरमा होस आयो, अनि कामतिर लागेँ ।” ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उहाँ बताउनुहुन्छ ।

    खाने पानी बोकेर ल्याउने सवारीसँग पानी माग्नुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी बताउनुहुन्छ । सार्वजनिक शौचालय नहुँदा शौच गर्न झन्झट खेप्नुपर्ने उहाँहरुको अर्को समस्या हो । शौचालयको अभावले पेटभरि पानी खान नसकिने ट्राफिक प्रहरी बताउँछन् । “चर्को घामले तिर्खा लाग्छ, पानी खाए शौचालय खोज्ने सास्ती”, थारु भन्नुहुन्छ ।

    ट्राफिक प्रहरीको सहयोगी कसरी बन्ने र?

    यातायात व्यवस्थापनमा सेवा दिइरहेका प्रहरीले सर्वसाधारणबाटै सहयोग अपेक्षा गर्छन् । सर्वसाधारण र सवारी चालकले ट्राफिक नियम पालना गरिदिए शत्प्रतिशत कठिनाइ हट्ने ट्राफिक प्रहरी गोविन्दराज पन्त बताउनुहुन्छ । उहाँका अनुसार सर्वसाधारणले सकेसम्म आकासेपुल, जेब्राक्रसिङ् प्रयोग गर्नु भए, सवारी चालकले सचेत भएर सवारी चलाए ट्राफिकको आधै झन्झट सुल्झिन्छ ।

    त्यस्तै, धुवाँ र धुलो उड्ने औद्योगिक क्षेत्र व्यवस्थित गर्नु, जीर्ण सडक मर्मत गर्नु, ट्राफिक लाइटको व्यापक प्रयोग गर्न सकिए ट्राफिक प्रहरीका दुःख निकै कम हुने एसपी विश्वराज खड्काले बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन जरुरी छ”, उहाँ भन्नुहुन्छ, “ट्राफिक लाइटको प्रयोग गर्ने, पुराना सवारी थन्काउने र ट्राफिक चेतना दिनसके हामी यति धेरै जोखिम उठाउनु पर्दैन ।”

    संविधानको धारा, ३० मा मौलिक हकका रुपमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार मानिसको मृत्यु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्न २०१५ मा उपत्यकामा गरेको अध्ययनमा यहाँको धुलोमा हानिकारक कण रहेको फेला पारेको थियो । ट्राफिकको स्वास्थ्य परीक्षणमा पछिल्लो समय प्रदूषणकै कारण ट्राफिक प्रहरीमा छाला चिलाउने र उच्च रक्तचापको समस्या बढ्दै गएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हाल उपत्यकाभित्र एक हजार सात सय ९७ जना ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये पुरुष एक हजार पाँच सय ८४ र महिला दुई सय १३ छन् । ट्राफिक महिला सङ्ख्यामध्ये पाँचजना गर्भवती अवस्थामा छन् । गर्भवती ट्राफिक महिलाको स्वास्थ्यमा कार्यालय सचेत रहेको एसपी खड्काले जानकारी दिनुभयो ।

    प्रहरीको नियमित जाँच गर्न सक्ने अवस्था नभए पनि आवश्यकताका आधारमा स्वास्थ्य जाँच हुन्छ । सामान्य जाँच गर्दा सामान्य असर देखिन्छ तर ट्राफिकको स्वास्थ्य प्रभाव दीर्घकालीन रुपमा पर्ने एसपी खड्क बताउनुहुन्छ । उहाँका अनुसार ट्राफिक महिलाप्रति अझै संवेदनशील क्षेत्र रहेको छ । गर्भवती ट्राफिक महिलाले सेवा प्रदान गर्दै स्वास्थ्य सन्तान जन्माउने वातावरण दिन चुनौती छ । भएको स्रोत र साधनबाट गर्भवती ट्राफिक महिलामैत्री परीक्षण गर्ने व्यवस्था मिलाएको उहाँ बताउनुहुन्छ । “गर्भवती महिला ट्राफिकको प्रसूतिसम्बन्धी जाँच गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँ भन्नुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.