सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति पौडेल


  •    न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १५:५८ 
  • तनहुँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको आज आयोजित १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिवर्तन गरी प्राविधिक र व्यावसायिक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ । त्यसतर्फ सरकारले नीति बनाउनुपर्छ ।” राष्ट्रपति पौडेलले जनज्योति क्याम्पसले भिमादको मात्रै नभई आसपासका छिमेकी जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।

    अस्थिर राजनीतिले देश विकासमा बाधा पुगेको बताउँदै राष्ट्रपति पौडेलले राजनीतिलाई स्थिर बनाएर देश विकासमा जुट्न दलहरुलाई आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले मुलुकको विकासका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्नुहुँदै भन्नुभयो, “मैले सबै दलहरुलाई भनेको छु, विकासका लागि एकजुट हुनुस्, अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्यो ।”

    राष्ट्रपति पौडेलले वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”
    उहाँले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र हरेक नेपालीलाई एकपटक नआई नहुने खालको भानु साहित्य उद्यान बनाउनुछ ।”

    राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसको लागि राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भन्नुभयो ।

    संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भन्नुभयो ।

    सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपतिले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो ।

    राष्ट्रपति पौडेलले जिल्लाको विकास निर्माणका लागि आफूले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, बुद्धसिंह मार्गलगायतमा राम्रो काम हुँदैछ । त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।”

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विकासका सवालमा राजनीति गर्न नहुने बताउँदै राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेले क्याम्पसले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । क्याम्पस प्रमुख केशवराज काफ्लेका अनुसार क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन् । यहाँ भिमादका अलवा आसपासका पालिका र जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालय भवन रु एक करोड १८ लाख लागतमा निर्माण गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.