सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या


  •    न्युजभित्तो/२२ चैत्र २०८०, बिहीबार १३:३१ 
  • चितवन, २२ चैत । यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो ।

    मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ ।

    खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाउनुभएको खुर्सानीमा यो रोगको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने भएर समस्या भयो ।” रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उहाँले बताउनुभयो ।

    खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आउनुभएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष वैशाखसम्म उत्पादन लिएको थिएँ । अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्यो ।”

    विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उहाँले बताउनुभयो । फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उहाँले गुनासो गर्नुभयो । रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उहाँले बताउनुभयो ।

    व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ । यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ ।”

    यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रवेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उहाँले बताउनुभयो । यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ । जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उहाँले बताउनुभयो । पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उहाँको भनाइ छ ।

    प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताउनुभयो । गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । यसैगरी कीराले क्षति गरेको पात, फलहरू सङ्कलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उहाँले बताउनुभयो ।

    स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उहाँले सुझाव दिनुभयो । रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.