सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन


  •    न्युजभित्तो/८ चैत्र २०८०, बिहीबार १२:१८ 
  • गण्डकी, ८ चैत । नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन् । भाडाको कोठाबाट सुरु भएको मानवसेवा आश्रमले सरकार र दाताको सहयोगमा भवन निर्माणलाई गति दिएको हो ।

    कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, बागलुङको बागलुङ नगरपालिका–४ निरयघाट, लमजुङको बेँसीसहर नगरपालिका–९ पाखाथोक र गोरखाको गोरखा नगरपालिका–८ अर्चलेमा आश्रमको भवन निर्माणाधीन छन् । हेम्जामा रु १० करोडको लागतमा भवन बन्न लागेको कास्कीस्थित आश्रमका संयोजक सदिस पुनले जानकारी दिनुभयो ।

    भवनको भुइँतला र तेस्रो तलाको निर्माण सम्पन्न हुने चरणमा रहेको उहाँको भनाइ छ । “बीचको तलाका लागि पोखरा महानगरले रु ७१ लाख सहयोग गर्ने कबोल गरेकाले बजेटको पर्खाइमा छौँ, अरु दाताबाट पनि सहयोग आइरहेको छ”, संयोजक पुनले भन्नुभयो । रु पाँच लाख ११ हजार एक सय ११ सहयोग गर्ने दाताको नाममा कोठाको नामकरण गरिने भएपछि २० जनाभन्दा बढी त्यस्ता सहयोगी जुटेको उहाँले बताउनुभयो ।

    आश्रम निर्माणका लागि विसं २०७९ माघमा आयोजना गरिएको महायज्ञबाट रु तीन करोड बढी आर्थिक सङ्कलन गरिएको थियो । विसं २०७५ चैतदेखि निर्माण थालिएको उक्त आश्रम भवन दुई सय जनालाई आवसीय सुविधा दिने गरी बन्न लागेको हो । हेम्जा र छोरेपाटन गरी कास्कीमा आश्रमका दुई सेवाकेन्द्र रहेका छन् ।

    छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित रहेको संयोजक पुनले जानकारी दिनुभयो । श्रम निर्माणमा प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घसंस्था र सर्वसाधारण दाताको सहयोग रहेको छ । आश्रमको बागलुङ शाखा भवनको झण्डै ५० प्रतिशत काम सकिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिनुभयो । स्रोत जुटाएर दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

    रु १२ करोड ७५ लाखको लागत योजनासहित बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रम निर्माणको काम भइरहेको हो । अध्यक्ष खड्काका अनुसार आश्रमका लागि चालु आवमा गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, बागलुङ नगरपालिकाबाट रु चार लाख, बरेङ गाउँपालिकाबाट रु छ लाख, गलकोट नगरपालिकाबाट रु पाँच लाख र म्याग्दीको बेनी नगरपालिकाबाट रु चार लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकाले गत आवमा रु ५० लाख बजेट दिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

    परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरूको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियानकर्मी तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो । बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि दुई वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहनेछ । गोरखा र लमजुङ शाखाको भवन निर्माण पनि तीव्रगतिमा भइरहेको मानवसेवा आश्रमले जनाएको छ ।

    आश्रमका अनुसार लमजुङ शाखा भवनको रु १५ करोड र गोरखाको शाखा भवनको रु तीन करोड लागत योजना रहेको जनाइएको छ । सहयोगापेक्षी सडक आश्रितमानवको उद्धार र जीवनरक्षामा आश्रम क्रियाशील छ । आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर, सडकआश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।

    गण्डकीका चारसहित देशभरका ११ जिल्लामा आश्रमका भवन बनिरहेको आश्रमको केन्द्रीय कार्यालयले जनाएको छ । मानवसेवा आश्रमले अहिलेसम्म १९ जिल्लामा सेवा विस्तार गरिसकेको जनाइएको छ । कार्यालयका अनुसार हाल देशभरका आश्रमका शाखा र सेवा केन्द्रमा गरी एक हजार छ सय बढीले आश्रय लिइरहेका छन् ।

    हालसम्म दुई हजार आठ सय बढीको पारिवारिक पुनःमिलन भएको र दुई हजार दुई सय बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएको जनाइएको छ । आश्रममै रहेका बेला आठ सय २६ जनाले मृत्युवरण गरेको र छ सय ३१ जनाको सामुदायिक पुनःस्थापना भएको छ । ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई ‘सडकआश्रित मानवरहित राष्ट्र’ बनाउने महाअभियानमा मानवसेवा आश्रम जुटेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.