सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको माडीमा पर्यटन प्रवर्धनका लागि घरवास


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार ०७:४६ 
  • हीरालाल गुरुङ
    माडी (चितवन) । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला चितवनको माडीमा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि होमस्टे (घरवास) सञ्चालन गर्ने भएको छ ।

    नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ माडी नगरपालिकाले त्यसमा सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेको छ । चालू आर्थिक वर्ष २०७६/७७ मा ३२ नयाँ होमस्टे सञ्चालनमा ल्याउने तयारी भइरहेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “माडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विशेष गरी होमस्टेलाई जोड दिएको छ । माडीको वनकट्टा, वसन्तपुर, शिवद्वार, राइटोलमा पर्यटकलाई लक्षित गरी होमस्टे खोलिनेछ ।”

    यसअघि नै माडीको पाण्डवनगर र शिवद्वारमा केही होमस्टे सञ्चालनमा रहेको प्रमुख ढकालले बताउनुभयो । होमस्टे सञ्चालन हुँदा पर्यटकको बसाइँ लम्बिने भएकाले पनि होमस्टेमा जोड दिएको उल्लेख गर्दै उहाँले माडीका मुख्य नौ गन्तव्यलाई पर्यटकको रोजाइका क्षेत्र बनाउन नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

    उहाँले माडी आउने पर्यटकले वाल्मीकि आश्रम, परशुरामकुण्ड, सोमेश्वरगढी, कम्युनिष्ट पार्टीको चौथो एकता महाधिवेशनस्थलमा बनेको एकतास्तम्भ, शहीदपार्क, बैकुण्ठ ताल, वनकट्टामा निर्माण हुन लागेको वृहत घाँसखेती परियोजना, माछा जोन अवलोकन गर्न पाउने र यी र यस्ता धेरै सम्भावनाको कारण पर्यटकको चहलपहल बढाउन सकिने बताउनुभयो ।

    नगरप्रमुख ढकालले भन्नुभयोे, “गैँडा, बाघ हेर्ने क्षेत्रका रुपमा चिनाउने ठाउँमा भ्यूटावर बनाउँदैछौँ । पर्यटन मार्गको पनि स्तरोन्नतिको काम थालनी गरेका छौँ ।” उहाँले वाल्मीकि आश्रमदेखि वगई हुँदै सौराहा जोड्ने गरी पर्यटनमार्ग विस्तार गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

    यसैबीच चितवन जिल्लाको दक्षिण भेगमा पर्ने माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन माडी नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाबीच सहकार्य हुने भएको छ । सौराहासँगै समग्र जिल्ला र निकुञ्जसँग जोडिएका क्षेत्रमा पर्यटकीय विकासको लहर फैलाउँदै सो क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यसहित माडी नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाबीच सहकार्य गर्दै आगाडि बढ्ने सहमति भएको प्रमुख ढकालले जानकारी दिनुभयो ।

    पर्यटन वर्ष नजिकिँदै गर्दा चितवन आउने पर्यटकलाई थप नयाँ प्याकेजको रुपमा माडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । उहाँले यस क्षेत्रमा लगानी गर्न समेत आफूहरु इच्छुक रहेको बताउनुभयो ।

    सौराहाबाट निकुञ्जको घनघोर जङ्गल, चुरेपहाड छिचोलेर माडीको यात्रामा जाने परम्परा शुरु भए पनि दीर्घकालीन रुपमा कार्यान्वयन नहुँदा माडी ओझेलमा परेको भन्दै माडी पर्यटन विकास समितिका संयोजक पुरन महतोले अब यसलाई फेरि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    सौराहादेखि चुरे पहाडहुँदै माडीसम्म जिप सफारी गर्दै जाने बाटो बनाउनुका साथै निकुञ्ज प्रवेशको टिकटको समयावधि बढाउन सके मात्र सौराहा र माडीको पर्यटन थप अगाडि बढ्ने सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताउनुभयो । उहाँले यसका लागि प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    माडीमा पूर्वाधार निर्माण हुनसके पैदल नै निकुञ्ज घुमेर माडी पुग्दा पर्यटक रमाउने व्यवसायीहरूले बताएका छन् । सौराहाका व्यवसायीले माडीमा पर्यटन प्रवर्धन गर्ने प्रतिबद्धता जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष नारायण भट्टराईले माडीको विकासमा आफूहरूको पूर्ण सहयोग रहेको भन्दै सौराहामा आएका पर्यटकलाई माडीमा भित्र्याउन सके चितवनमा पर्यटकको बसाइँ लम्बिने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.