सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै


  •    न्युजभित्तो/२९ फाल्गुन २०८०, मंगलवार १४:०३ 
  • चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ । गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उहाँले बताउनुभयो । निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले हामीले सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्दैंछौ।”

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ । बुधबार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने छ । उहाँले थप्नुभयो, “अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।” गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा छ ।”

    गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ । गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज आइसकेको छ ।
    पुनका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिहरु निकुञ्जमा आइसकेका छन् । गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री ‘कोर’ क्षेत्रमा र नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिने छ । निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ । स्थानान्तरण गर्दा भालेपोथीको रेसियो मिलाइने उहाँले जानकारी दिनुभयो ।

    दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।
    विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको थिएन । त्यही समयमा पूर्वका गैँडा बगेर पश्चिम पुगेका थिए ।

    एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वतर्फ लैजान लागिएको हो । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याका आधारमा गर्न नसक्दा समस्या देखिएको छ ।
    वरिष्ठ इकोलोजिस्ट शाहले एकै ठाउँमा धेरै गैँडा भएकाले स्थानान्तरण गरी घनत्व मिलाउन लागिएको बताउनुभयो । एकै स्थानमा धेरै गैँडा हुँदा बासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.