सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दैनिक छ घण्टा हिँडेर पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा


  •    न्युजभित्तो/२८ माघ २०८०, आईतवार १३:२४ 
  • बागलुङ, २८ माघ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिड्नुपर्ने बाध्यता हटेको छ ।
    भौगोलिक विकटताका कारण नर्जाखानी, पात्ले र भित्रीवन गाउँबाट दैनिक छ घण्टा हिँडेर वडा नं ५ खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा दिइएको गाउँपालिका कार्यालयले जनाएको छ । गत पुस १ गतेदेखि कक्षा १० मा पढ्ने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै ‘होस्टेल’ स्थापना गरेर एसइई दिँदासम्मका लागि आवासीय सुविधा दिन थालेको विद्यालयमा प्रधानाध्यापक सत्यनाराण सिंहले जानकारी दिनुभयो ।

    वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि शान्ति माध्यमिक विद्यालयमा पुग्नु पर्ने बाध्यता छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टाभन्दा बढी लाग्दछ । वर्षौँदेखि घण्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका यस क्षेत्रका विद्यार्थीलाई एसइई तयारीका लागि करिब तीन महिना आवासीय सुविधा दिइएको प्रअ सिंहले जानकारी दिनुभयो । “शान्ति माविमा छात्रावास सञ्चालनका लागि गाउँपालिकाले हरेक वर्ष रु एक लाख विनियोजन गर्ने गरेको छ । जसबाट विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालन, छात्रावासको व्यवस्थापन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तीन महिना विद्यालयमा बसेर पढे भने उनीहरुको नजितामा सुधार आउने अपेक्षा गरेका छौँ ।”

    नर्जाखानीबाट कक्षा ९ र १० मा अध्ययन गर्न खुङ्खानी आउनुपर्छ । नर्जाखानीबाट पढ्न आउने ललिता छन्त्यालले छात्रवासमा बसेर पढ्न थालेपछि धेरै सहज भएको बताउनुभयो । कक्षा नौदेखि दैनिक छ घण्टा हिँड्नुपरेको भन्दै अहिले विद्यालयमा बसेर पढ्न पाउँदा एसइई परीक्षामा राम्रो अङ्क लिएर पास हुने अपेक्षा रहेको उहाँको भनाइ थियो । “घरबाट आउजाउ गर्दा निकै समस्या थियो । दैनिक छ घण्टा हिँड्नुपथ्यो । हिँडाइको थकाइले गर्दा पढाइप्रति ध्यान नै जाँदैनथ्यो । अहिले घरबाट आउजाउ गर्नु परेको छैन, यही बसेर पढ्दा पढाइ पनि राम्रो भएको छ”, छन्त्यालले भन्नुभयो, “सबैभन्दा बढी समस्या बर्खा र जाडोको समयमा हुने गरेको थियो ।”

    पात्लेगाउँका रुपक घर्ती मगर पनि अहिले विद्यालयकै छात्रवासमा बसेर अध्ययन गर्दै हुनुहुन्छ । नर्जाखानीको विद्यालयबाट आठ कक्षा पास गरेर शान्ति माविमा आउनुभएका घर्तीले डेढ वर्ष निकै कष्टपूर्ण तरिकाले विद्यालय आउजाउ गरेको अनुभव सुनाउनुभयो । जङ्गलको बाटो हिँड्दा वन्यजन्तको डर हुने गरेको भन्दै अहिले परीक्षा नजिक आइरहेको अवस्थामा यसरी विद्यालयमै बसेर पढ्न पाएकामा सहज भएको उहाँले बताउनुभयो । यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ ।

    टाढाका विद्यार्थीको सहजताका लागि गाउँपालिकाले केही समयका लागि भए पनि आवासीय सुविधा दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालनका लागि शान्ति माविसहित वडा नं २ को जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभान र धन गौ ज्योति मावि वडा नं ३ तमानलाई पनि बजेट विनयोजन गरिएको उहाँले जानकारी दिनुभयो । अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताउनुभयो । भौतिक संरचनाको व्यवस्थापनसँगै शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयास गरिरहेको उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.