सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपांगता भएका बालबालिकाको पढाइ छुट्ने चिन्ता


  •    न्युजभित्तो/१७ माघ २०८०, बुधबार १४:२८ 
  • बागलुङ, १७ माघ । बिहान सहयोगीले ह्विलचियरमा राखिदिएपछि मात्रै शौचालय जान सक्छिन् । कम्मरदेखि तल्लो भाग नचल्ने १४ वर्षीया सुस्मा रुचाल शौचकै पीरले मन लागेजति खानासमेत खाँदिनन् । खाने, बस्ने, पढ्न जाने सबै काममा साथी चाहिने उनलाई बिहानदेखि बेलुकीसम्म सहयोगी नभई सम्भव छैन । जन्मँदै दुवै खुट्टा नचल्ने उनका दुवै हातमा पनि समस्या छ ।

    अपांगता भएका बालबालिकाको पढाइ छुट्ने चिन्ता
    पढाइमा तिक्ष्ण रुचालको कलम समात्ने हातका औंलासमेत छैनन् । दाहिने हातको समस्याले देब्रे हातका औंलाले उनले लेख्छिन् । लेखाइ ढिला भएकाले सामान्य विद्यार्थीसरह समयले उनलाई पुग्दैन ।

    जन्मदै शारीरिक रूपमा अशक्त उनले परिवारका सदस्यको समेत माया पाइनन् । पढ्ने लेख्ने त उनको सम्भावना नै थिएन । पोखरा महानगरपालिका–१७ की रुचाललाई बाबु गणेश र आमा विनीताले त आशै मारेका थिए । हजुरआमा पद्माले नातिनीको पढाइबारे बढी चिन्ता गरिन् । उनले जसरी पनि नातिनी पढाउने निधो गरेर पढ्ने ठाउँको खोजी गर्दा बागलुङ रामरेखामा अपांगता भएका बालबालिका राखेर पढाउने विद्यालय खुलेको थाहा पाइन् । त्यसपछि ७ वर्षकी नातिनी बोकेर उनी बागलुङ नगरपालिका–१ मा बनेको रामरेखा आधारभूत विद्यालयमा आइपुगिन् ।

    विद्यालयका प्रअ कविराज जीसी र अर्का शिक्षक रेशम गोतामेले पद्माको नातिनी पढाउने धोको पूरा गर्ने चाहना राखे । शारीरिक अपांगता भएका बालबालिका पढाउन यहाँ भर्खर छात्राबास बनाइएको थियो । प्लान इन्टरनेसनलले ५० लाख खर्चेर बनाइदिएको घरमा बागलुङ नगरपालिकाले दुई जना आया ९सहयोगी० र बालबालिकाको खर्चको व्यवस्थापन गरेको छ । प्रतिविद्यार्थी १० महिनाका लागि ४ हजारका दरले ४० हजार र दुई जना सहयोगीको १३ महिनाका लागि १२ हजारका दरले रकम उपलब्ध गराएको छ । यहाँको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले छात्रावासदेखि विद्यालय र कक्षाकोठामा पुग्ने र्‍याम्पसमेत बनाइदिएको छ । अन्यथा रुचाललाई कक्षाकोठामा लैजानसमेत सकिँदैन ।

    रुचालजस्तै यहाँ १३ जना शारीरिक अपांगता भएका बालबालिका पढ्छन् । अन्य १ सय १७ जना विद्यार्थी छन् । उनीहरू कालीगण्डकी नदीमा ढुंगा र बालुवा चाल्ने मजदुरका बालबालिका हुन् । अहिले रुचाल कक्षा ६ मा पढ्छिन् । उनी कक्षा १ देखि नै निरन्तर प्रथम भइरहेकी छन् । कक्षा ८ पछि भने उनको पढाइ रोकिनेवाला छ । यो विद्यालयमा कक्षा ८ भन्दा माथि पढाइ छैन । कक्षा ८ उत्तीर्णपछि यो विद्यालयले छात्रावासको सेवा दिन नपाउने व्यवस्था छ ।

    कुनै दाताको सहयोग नमिले अब रुचालको पढाइ छुट्ने अवस्था छ । ‘कक्षाको प्रथम हुने विद्यार्थीलाई हामीले छुटाउनुपर्ने भएको छ,’ प्रअ जीसीले भने, ‘राज्यले यस्ता बालबालिकाको शिक्षा र जीवनशैलीबारे समयमा सोच्न जरुरी छ ।’ रुचाल पनि त्यसपछि घर फर्कनुपर्ने हो कि भनेर चिन्तामा परिसकेकी छन् । ‘घरमा गए पनि यस्ता सहयोगी पाउन सक्दिनँ होला,’ उनले भनिन्, ‘यहाँ त बिहान–बेलुकी सहयोगीको साथ पाएकाले पढ्ने र जिउने अवसर पाएकी छु ।’ घर फर्केपछि कोठामा अलपत्र बस्नेबाहेक अन्य काम नहुने उनले गुनासो गरिन् ।

    रुचाल गीतसंगीतमा समेत रुचि राख्छिन् । उनले कविता लेखन प्रतियोगितासहित विभिन्न लेखरचना र हाजिरीजवाफमा पनि भाग लिएर पुरस्कृत हुने गरेकी छन् । ‘उनले भाग लिएपछि जहाँ पनि जित्छिन्,’ प्रअ जीसीले भने, ‘उनको क्षमतालाई सदुपयोग गर्न सकेमा अपांगताले छेक्ने छैन ।’ यो विद्यालयमै पढ्ने जीवनबहादुर क्षेत्री त झनै चिन्तित छन् । कक्षा ८ मा पढ्ने क्षेत्रीको देब्र्रे खुट्टा छैन । चार वर्षअघि क्यान्सरका कारण उनको खुट्टा काटिएको थियो । बाबु थम्मन र आमा तपकुमारीले मजदुरी गरेर छोराछोरी हुर्काएका छन् । जीवनका दाइ रामु छुट्टिएर बसेका छन् । दिदी देवी, भाइ रमित र बैनी मनीषा पढाउनुपर्दा परिवारमा आर्थिक संकट चुलिएको छ । ऋण खोजेर उपचारपछि भरतपुर क्यान्सर अस्पतालबाट उनी बाँचेर त फर्के तर घरमा बसेर पढ्ने अवसर गुमाए ।

    उनको घर भएको बडीगाड गाउँपालिका–९ दर्लिङ गाउँमा सडक छैन । ह्विलचियरमा हिँड्न मिल्दैन । घरबाट विद्यालयसम्म कृत्रिम खुट्टाले पनि जान सक्दैनन् । यहाँ बस्दा भने उनले कृत्रिम खुट्टा प्रयोग गरेका छन् । ‘कृत्रिम खुट्टाले उकालोओरालो हिँड्न मिल्दैन,’ उनले भने, ‘ह्विलचियर र सामान्य चौरमा हिँड्न मात्रै मिल्छ ।’ त्यसैले उनी पनि विद्यालयको छात्रावासमा बसेर पढ्दैछन् । कक्षा ८ पास भएपछि आउँदो वैशाखबाट उनी कता जाने अन्योलमा छन् । उनको परिवार पनि आर्थिक रूपमा विपन्न छ । बाबुआमाले पढाउन नसक्ने अवस्था भएकाले सहयोगी पाए मात्र पढ्न सक्ने बताए । उनी समेत कक्षा ८ मा प्रथम हुन् । ‘राम्रा विद्यार्थीलाई बीचैमा पढाइ छाडेर पठाउनु पर्दा हामीलाई दुःख लागेको छ,’ अर्का शिक्षक रेकम गोतामेले भने, ‘उनीहरूका लागि नगरपालिका वा राज्यका अन्य संस्थाले साथ दिए हुन्थ्यो ।’ विद्यालयमै कक्षा १० को अनुमति पाएमा पनि सहज हुने उनले बताए ।

    बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले उनीहरूको अवस्था देखेर नीतिगत व्यवस्था नभए पनि व्यावहारिक सहयोगका लागि केही गर्ने लक्ष्य राखेको बताए । ‘सके छात्राबास भएको विद्यालयमा पढाउने, नसके यहीं बसालेर खर्चको जोहो गर्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘नीतिगत रूपमा सम्बोधन गर्न सकिएन भने दाता खोजेर पनि पढाउने भनेका छौं ।’ उनले अपांगता र अशक्त क्षेत्रका लागि छुट्याएको बजेट उनीहरूको शिक्षामा खर्चने गरी नगरपालिकाले तयारी गरेको बताए । नीतिगत व्यवस्था भएमा मात्रै उनीहरूले दिगो रूपमा सेवा पाउने पोखरेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.