सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उच्च शिक्षा अध्ययनबाट बालबालिका बञ्चित नहुनु भन्दै गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान


  •    न्युजभित्तो/७ माघ २०८०, आईतवार १०:५८ 
  • इलाम, ७ माघ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदोरहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ”, उहाँले भन्नुभयो ।

    रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ । “अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यकम सुरुआत गरेका हौँ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भन्नुभयो, “प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।”

    यो कार्यक्रमका लागि दैनिक एक रुपैयाँका दरले पालिकाको वार्षिक रु पाँच लाख ९४ हजार खर्च हुने उहाँले बताउनुभयो । बालबालिकालाई दिनको न्यूनतम एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक छ हजारसम्म बचत गरिरहेको उहाँले जानकारी दिनुभयो । “हामीले हरेक दिन एक रुपैयाँ बचत गर्नुपर्छ भन्दा एक महिनामा ३० रुपैयाँ हुने हो । तर बालबालिकाले रु छ हजारसम्म बचत गरिरहेका छन् । यो कार्यक्रमले बालबालिकामा बचत गर्ने संस्कार सिकाएको छ”, अध्यक्ष स्याङबोले भन्नुभयो ।

    माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनुचाहिँ बुद्धिमानी हुने ठानेर गाउँपालिकाले यो कार्यक्रम सुरुआत गरेको उहाँले बताउनुभयो । “एक रुपैयाँ दिनु ठूलो कुरा होइन । यति जाबो पैसा दिने भन्ने कुरा पनि नआएका होइनन् । तर उहाँहरूलाई हामीले बचत गर्न सिकाएको मात्र हो”, स्याङबो भन्नुहुन्छ, “म भोलि इन्जिनियर बन्नु छ, त्यसका लागि आजैबाट बचत गर्छु भनेर बालबालिका लागेका छन् । राज्यले सबै कुरामा दान, भत्ता दिएर हाम्रो सोचाइ बिग्रिसकेको छ । राज्यले बाटो देखाइदिनेमात्र हो । हामीले एक रुपैयाँबाट सुरु गर्यौँ यसले बालबालिकाको उच्च शिक्षा अध्ययनलाई ठूलो मद्दत पुग्छ ।”

    क्षमता भएर पनि पैसा नहुँदा कैयन बालबालिकाले राम्रो विषयमा उच्च शिक्षा हासिल गर्न नसकेको दृष्टान्त नेपाली समाजमा प्रशस्तै रहेको उहाँको भनाइ छ । “रोङ गाउँपालिकाका विद्यार्थी अबको पाँच–दश वर्ष पछाडि पढाइ छाडेर कतार, मलेसिया जानुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुन्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

    यो कार्यक्रमले राज्यलाई पनि फाइदा पुग्ने भएकाले देशव्यापीरूपमा सुरुआत गर्न उहाँले आग्रह गर्नुभएको छ । “तीन तहका सरकारले देशभरिका सबै बालबालिकाको खातामा एक रुपैयाँ हालिदिने र तिमीहरू पनि बचत गर भन्ने हो भने अबको पाँच वर्ष पछाडि राज्यले छात्रवृत्तिको नाममा बजेट छुट्याउनै पर्दैन”, उहाँ भन्नुहुन्छ, “आज एक रुपैयाँ बचतका लागि चाहिने कोषभन्दा पचासौँ गुणा बढी रकम त हामी छात्रवृत्तिका नाममा खर्च गरिरहेका छौँ । त्यति गर्दा सबैले पाएको अवस्था पनि छैन । पहुँचका भरमा पाउलान्, तर वास्तवमै गरिब किसानका छोराछोरीले छात्रवृत्ति पाएका छैनन् ।” राज्यको सयौँ गुणा बढी खर्च पनि भइरहेको छ, लक्षित समुदायले लाभ लिन सकेका पनि छैनन् भने यो समानता र वितरण प्रणाली तीन तहका सरकारले कपि गर्नुपर्ने भन्दै उहाँले माग गर्नुभएको छ ।

    गाउँपालिकाले केही वर्षभित्रै छात्रवृत्ति वितरण रोक्ने बताएको छ । छात्रवृत्तिको सट्टा बचत अभियानलाई नै अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाको सोच छ । “यो वर्ष रु २० लाखको छात्रवृत्ति बाँड्दैछौँ, गत वर्ष रु २० लाखभन्दा बढीकै छात्रवृति वितरण गर्यौँ । अबको दुई–तीन वर्ष पछाडि हामी छात्रवृत्ति रोक्छौँ”, अध्यक्ष स्याङबोले भन्नुभयो ।

    गाउँपालिकाको ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत सञ्चालित बचत कार्यक्रमबाट पालिकाभरिका ३० वटा विद्यालयका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुन्छन् । प्राइम कमर्सियल बैंकले हरेक विद्यार्थीको खातामा एक सय रुपैयाँ जम्मा गरिदिने सहमति छ । बैंकले प्रत्येक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पालिकासँग सम्झौता गरेको बताएको छ । विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ शर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि बैंकले रु दुई लाख ५० हजारभन्दा बढी सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.