सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सानो सूचनाले पाँच अर्ब लुट्ने योजना असफल


  •    /८ आश्विन २०७६, बुधबार २२:३३ 
  •    नारायण ढुङ्गाना

    काठमाडौँ । काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ चोरी भएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । एक विदेशी ह्याकरले कृषि विकास बैंकको सफ्वेयर ह्याक गरी नेपाली नागरिकलाई प्रयोग गरेर पैसा निकालेको खुलेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पैसा निकाल्ने कार्यमा संलग्न रहेका १२ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । एउटा रेमिट कम्पनीका कर्मचारीको सानो सूचनाका कारण ठूलो रकम विदेश लैजाने ह्याकरको योजना विफल भएको प्रहरीले जनाएको छ ।

    “ह्याकरले रु पाँच अर्ब निकाल्ने योजना बनाएका थिए, झण्डै रु ७० लाख निकालेको पाइयो, ६० लाख बरामद गरेका छौँ भने रु १० लाख हुण्डीमार्फत भारत लगिसकेको खुल्न आएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक थापाले राससलाई भन्नुभयो ।

    उक्त घटनाका मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भन्ने पिटर हुन् । उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए । उनको योजना नेपालबाट रु पाँच अर्ब लैजाने रहेको खुल्न आएको छ । उसले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए ।

    महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पैसा निकाल्दै गर्दा विभिन्न क्षेत्रबाट १२ जनालाई पक्राउ गर्न सफल भएको छ । ह्याकरको समूह तथा सहयोगीहरुले बैंकमार्फत रु चार करोड ७३ लाख रकम भने विभिन्न व्यक्तिको नाममा सारिसकेको पाइए पनि सही समयमा प्राप्त सूचना र प्रहरीको तत्कालको अनुसन्धानले उक्त रकम निकाल्नबाट जोगिएको छ ।

       यसरी भएको थियो घटना

    घटना यही असोज ५ गते आइतबारको हो । बानेश्वरमा रहेको पानस रेमिटबाट केही व्यक्तिहरुले अस्वाभाविक रुपमा पैसा निकालेपछि गतिविधि शङ्कास्पद लागेर कर्मचारीले महानगरीय अपराध महाशाखामा जानकारी गराए ।

    त्यसपछि खटिएको महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा केही व्यक्तिलाई पक्राउ गर्यो । उनीहरुसँग सोधपुछ गर्दा नुवाकोटका लवाङ तामाङ घटनामा संलग्न रहेको खुल्न आयो । खोजतलासका क्रममा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि थप रहस्य खुल्न पुग्यो । उनको साथबाट प्रहरीले रु ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो ।

    कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरेर प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न भनियो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो, “लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो र हामीले अनुसन्धानलाई थप तीव्रता दियौँ ।”

    उहाँका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाई सकिएको फेला पर्यो । त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो । सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिनुभयो ।

    नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुण्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिको नाममा ह्याकरले पैसा पठाएको खुल्न आएको उहाँले जानकारी दिनुभयो । सोही प्रक्रिया चल्दै गर्दा प्रहरीले उनीहरुलाई पैसा निकाल्नुअघि नै पक्राउ गरेको थियो । “तर पनि ७० लाख भने निकालेको र रु १० लाख भने हुण्डीमार्फत विदेश पठाइसकेको फेला परेको छ अरू पैसा बरामद भएको छ”, महाशाखा प्रमुख थापाले भन्नुभयो ।

    उक्त घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौँ तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, झक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रु चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ । यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत लैजाने गरेको समेत खुल्न आएको छ ।

    पिटरले नेपालका एजेन्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट रु पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.