सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वाधार अभावमा विद्यालय समस्यामा


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार ११:१७ 
  • बागलुङ, ७ पुस । कुनैसमय दक्षिण बागलुङमा नाम चलेको विद्यालय हो, जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण मावि । जैदी, राङ्खानी, छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थी त्यहाँ पढ्न आउँथे । एकै कक्षामा १२५ जनासम्म विद्यार्थी हुन्थे ।

    विसं २०३१ मा स्थापित त्यस विद्यालयको सेवा क्षेत्र पनि खुम्चँदै गयो । विद्यार्थी घटे । अघिल्लो पुस्ताले दुःखजिलो गरेर ल्याएको विद्यालय विस्तारै ओझेलमा प¥यो । विद्यालय भवन पनि जीर्ण बन्यो । विद्यालयको शैक्षिक÷भौतिक सुधारमा कसैको पनि अपेक्षित नजर परेन । राजनीतिक प्रभावले पनि गाँज्दै लग्यो । त्यस भेगकै अगुवा शिक्षण संस्था भएर पनि विद्यालय अनेक समस्यामा जेलिँदै आयो ।

    नियमित सिकाइलाई जेनतेन अगाडि बढाए पनि भौतिक पूर्वाधारमा विद्यालय धेरै पछि छ । हिजो दुर्गम भनिएका गाउँमा पनि सुविधायुक्त विद्यालय भवन ठडिइरहेका बेला सदरमुकामसँग जोडिएको पालिकाको विद्यालय भने पूर्वाधारबाट बञ्चित छ ।

    दशैँअघि बनेको विद्यालय भवनका कक्षाकोठा रुग्ण, साँघुरा र अँध्यारा छन् । भौतिक वातावरण सिकाइमैत्री नहुँदा पठनपाठन गुणस्तरीय छैन । प्रधानाध्यापक यम शर्माका अनुसार विद्यालयलाई भवन, खेलमैदान, खानेपानी र घेराबारको टड्कारो खाँचो छ । “भूकम्पले पनि क्षति पु¥याएको विद्यालय हो, पुनःनिर्माण प्राधिकरणमार्फत भवन बनाउने योजना रहे पनि त्यो प्रक्रियामै अल्झियो”, प्रअ शर्माले भन्नुभयो, “यहाँबाट सबै कागजात र प्रक्रिया पूरा गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ हुन सकेन ।”

    प्राधिकरणले भूकम्पमा क्षति पुगेका जिल्लाका कैयन विद्यालयको पुनःनिर्माण गरे पनि उक्त विद्यालयले भने सो सहयोगलाई पनि भित्र्याउन सकेन । त्यसका लागि विद्यालय प्रशासनदेखि वडा, नगरको समेत पहल नपुगेको स्थानीयवासीको गुनासो छ । भवनका नाममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट गत आर्थिक वर्षमा दुईकोठे भवन परे पनि बजेट अपुग हुँदा त्यो अलपत्र परेको छ । रु १८ लाखको बजेट आएकामा त्यसले नभ्याएपछि प्लाष्टर, झ्यालढोका र रङरोगन हुन बाँकी छ ।

    तत्कालीन शिक्षा कार्यालयमार्फत बनेको दुईकोठे ट्रष्ट भवन पनि पानी चुहिने भएको छ । त्यस भवनभित्र रहेको विज्ञान प्रयोगशाला उपकरण र सामग्री अभावमा सञ्चालनमा आउन सकेको छैन । पुस्तकालय पनि पुरानै जीर्ण भवनमा रहेकाले वर्षात्मा पानीबाट जोगाउन हम्मेहम्मे पर्छ । विसं २०४६ मा बनेको दशकोठे भवनमा ढुङ्गाको छानो छ । त्यसको मर्मत सुधार नहुँदा पानी चुहिने समस्या निम्तिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन पुनले गाउँकै पुरानो विद्यालय छायाँमा परेको बताउनुभयो । भौतिक पूर्वाधारसम्पन्न हुन सके विद्यालयलाई पुरानै अवस्थामा फर्काउन सकिने उहाँको भनाइ छ ।

    कक्षाकोठा अभावमा १ देखि ५ कक्षासम्मको पढाइ मुख्य भवनभन्दा केही टाढा रहेको अर्को जीर्ण भवनबाट भइरहेको छ । नयाँ भवन बनेमा सबै तहको पढाइ एकै ठाउँबाट चलाउने योजनामा विद्यालय प्रशासन छ । भवन मात्र नभएर खेलमैदानको पनि अभाव छ । बालबालिकालाई खेल्ने, रमाउने खुला ठाउँ छैन ।

    विद्यालय छेवैबाट ग्रामीण सडक गएको र चारैतिर खुला स्थान रहेको हुँदा विद्यालयलाई तत्काल घेराबार गर्नुपर्ने स्थिति छ । पानीको समस्या भएकाले विद्यार्थीलाई शौचालय जानसमेत गाह्रो छ । उमेर पुगेका किशोरीलाई त्यो समस्याले झन् पिरोल्ने गरेको छ । विद्यालयसँग कोष र आन्तरिक स्रोत नभएकाले दाताको सहयोगबिना कुनै पनि काम अगाडि बढ्न सक्ने अवस्था छैन । नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले नगरको क्षमताले भ्याएसम्म विद्यालयको माग सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।

    उहाँले नगरमार्फत नै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट गत आवमा दुईकोठे भवन परेको उल्लेख गर्नुभयो । त्यस्तै शौचालय निर्माण, भवनको मर्मत सम्भार, विज्ञान प्रयोगशाला र खानेपानीका लागि पाइप खरिदमा नगरले सहयोग गरेको नगर शिक्षा अधिकारी आचार्यको भनाइ छ । “समस्या भएका विषयमा प्रस्तावना लिएर आएमा बजेट र कार्यक्रमका लागि हामीले सक्दो पहल गर्छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट यस वर्ष थप चारकोठे भवनका लागि त्यो विद्यालयलाई प्राथमिकतामा राख्छौँ ।”

    पुरानो र अगुवा विद्यालय भएर पनि भौतिक संरचनाका दृष्टिबाट विद्यालय पछि परेको कुरामा नगरपालिकाका पदाधिकारी पनि सहमत छन् । विसं २०४१ मा मावि, २०५७ मा उमावि हुँदै निरन्तर सञ्चालनमा रहेको सो विद्यालयमा अहिले ३२८ विद्यार्थी अध्ययनरत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.