सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रंगशाला निर्माण : पछि हट्यो फाउण्डेशन, स्वामित्व लिन महानगरलाई अनुरोध


  •    न्युजभित्तो/५ पुष २०७८, सोमबार १३:५७ 
  • चितवन, ५ पुस । तामझामका साथ निर्माण शुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात उठाएको छ । उसले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।

    ठूलो धनराशीको रंगशाला निर्माणको जिम्मा लिएको सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) नेतृत्वको फाउण्डेशनले आर्थिक स्रोत जुटाउन कठिन भएपछि कामबाट बाहिरिने बाटो खोजेको हो । फाउण्डेशनले कोभिडलाई देखाएर कामबाट फन्छिने उपाय अपनाएको छ ।

    बि.सं. २०७५ माघ १६ गते काठमाण्डौंमा तत्कालिन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताको उपस्थितिमा तामझामका साथ भरतपुर महानगरसँग फाउण्डेशनले विशेष सम्झौता गरेको थियो । उक्त सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्न सक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाईएको छ ।

    सोही आधारलाई टेक्दै फाउण्डेशनले महानगरलाई स्वामित्व लिई दिन अनुरोध गरेको छ । फाउण्डेशनले यही पुस २ गते महानगरलाई औपचारिक पत्राचार गरी आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ “फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं. ८ मा उल्लेख भए अनुसार विश्वव्यापी महामारी कोभिड १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ ।”

    महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताउनुभयो । यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाईएको बताउनुभयो । यस सम्बन्धमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजसँग परामर्श गरी काम अघि बढाईएको दाहालले बताउनुभयो । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।

    उहाँका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रीपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाईदै छ । बाँकी कामका लागि बहुवर्षिय योजना अन्तर्गत बोलपत्र आव्हान गरी काम अघि बढाउन महानगरले संघीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्त्रीपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।” भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाई छ ।

    महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो । फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उहाँले थप्नुभयो “रंगशाला सम्पन्न हुन्छ ।”

    फाउण्डेशनले रु.१७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाईदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकुद मन्त्रालय हुँदै मन्त्रीपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीति नियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रंगशाला निर्माणको कामलाई पूर्णता दिने बताउनुभयो ।

    आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुन सकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउण्डेशनका अध्यक्ष सितारामकट्टेलले चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्नु परेको बताउँदै आउनु भएको थियो । उहाँले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताउनुभयो ।

    रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दावी गरेको छ । रंगशालामा अहिलेसम्म रु. ५४ करोड ६२ लाख २१ हजार खर्च भैसकेको यस अघि नै फाउण्डेशनले दावी गरेको थियो । रंगशाला सम्पन्न गर्न रु.३ अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.