सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, किसान प्रभावित


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १०:०२ 
  • नारायण अधिकारी
    चितवन, २ पुस । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

    नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । गत वर्ष प्रतिकिलो रु ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु १२० प्रतिकिलो परेको छ । यसैगरी सामान्य भटमास रु ११० पर्ने गरेको छ । जुन गत वर्ष रु ६२ प्रतिकिलोमात्रै थियो ।

    मकै रु ३२ बाट बढेर रु ३८ पुगेको छ । तेल रु १६० प्रतिलिटरबाट रु २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु ५० पर्ने डिसीपी रु १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उहाँको भनाइ छ ।

    कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उहाँले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एकातर्फ दानाको मूल्य बढ्यो, अर्कोतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।”

    किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउनुहुन्छ । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उहाँको भनाइ छ । दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविकरूपमा लिएको उहाँले बताउनुभयो । उहाँले भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने जानकारी दिनुभयो ।

    नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताउनुहुन्छ । भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उहाँले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको बताउनुभयो । तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको भट्टराईको भनाइ छ ।

    डा भट्टराईले भन्नुभयो, “कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।” भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उहाँको भनाइ छ । दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउनुहुन्छ । अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु ५।५० देखि ६।५० सम्म बढाएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १।६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उहाँले बताउनुभयो । यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउनुहुन्छ । हाल दानाको मूल्य रु ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ ।

    विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरु प्रभावित भएको उहाँको भनाइ छ । सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.