सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस्तक समीक्षा : बिपी कोइरालाको अर्थनीति र समाजवाद बुझाउने पुस्तक


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १५:४१ 
  • काठमाडौँ, २३ मङ्सिर । नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने व्यवस्थालाई प्रस्तावनामा नै समेटेको छ । मूल कानुनमा नै समाजवादलाई लिपिबद्ध गरिएकाले पनि राजनीतिक दलहरुले त्यसलाई आफ्नो मूलमन्त्र बनाएका छन् ।

    खासगरी समाजवादलाई केन्द्रमा राखेर नेपाली कांग्रेसले प्रजातान्त्रिक शब्द जोडेको छ । यस्तै वामपन्थी शक्तिले वैज्ञानिक समाजवाद भन्दै आएका छन् । केहीले भने बहुदलमा आधारित समाजवादसमेत भनेका छन् । पछिल्ला दिनमा त राजनीतिक दलको नाममा समेत सोही शब्द जोडिएको छ ।

    जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालाई नेपालको सापेक्षतामा विकास गर्दै गरिबीको अन्त्य र आर्थिक समृद्धि नेपालको संविधानले निदृष्ट गरेको समाजवादका लक्ष्यका रूपमा स्थापित छ ।

    समाजवाद खासमा एक आर्थिक–सामाजिक दर्शन हो । समाजवादी व्यवस्थामा धन–सम्पत्तिको स्वामित्व र वितरण समाजको नियन्त्रणमा रहन्छ । समाजिक, आर्थिक र वैचारिक रुपबाट हेर्दा पनि समाजवादले निजी सम्पत्तिमा आधारित अधिकारको विपक्षमा मत राख्दछ । माक्र्सवादी विश्व दृष्टिकोणबाट हेर्दा वैज्ञानिक समाजवादको जन्मदाताका रूपमा कार्लमाक्र्सलाई लिइन्छ । उहाँले अर्थशास्त्र, समाजशास्त्र र राजनीतिक सिद्धान्तलाई समाजवादको अवधारणाको रूपमा व्याख्या गर्नुभएको थियो ।

    समाजवाद एउटा यस्तो व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णरूपमा सरकारमा निहित हुन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो अर्थराजनीतिक व्यवस्था अङ्गिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्दछ । सामाजिक स्वामित्वका विभिन्न प्रकारहरु पनि छन् । त्यसमा साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यले सञ्चालन गरेका संस्थानलाई पनि त्यसमा राख्न सकिन्छ ।

    लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको परिकल्पना गरेर नेपालको संविधानमा समाजवादोन्मुख प्रावधान राखिएको हो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिजको लेख ‘द इकानोमी वी नीड’मा अमेरिकको अभ्यास गरिरहेको अर्थव्यवस्था असफलता उन्मुख रहेको भन्दै प्रगतिशिल पूँजीवाद वा समाजवादी अर्थव्यवस्थाको पक्षमा वकालत गर्नुभएको छ ।

    नेपालको हकमा कांग्रेसले मान्दै आएको प्रजातान्त्रिक समाजवाद र वामपन्थी शक्तिले भन्दै आएको समाजवादको आधारभूत भिन्नताको यकिन व्याख्या अझै भेटिँदैन । नेपालको संविधान निर्माणको समयमा समेत कुनै पनि वादको पक्षमा देश हुन नहुने भन्दै निजी क्षेत्रका केही सङ्घसंस्थाले विरोध गरेका थिए । तर संविधानले समाजवादोन्मुख अर्थव्यवस्थाको पक्षमा आफूलाई उभ्याएको छ । परम्परागत पूँजीवाद र समाजवादका राम्रा पक्षहरू अवलम्बन गर्दै नेपालको मौलिकतामा आधारित समाजवाद निर्माण गर्ने ध्येयलाई राजनीतिक दलले समेत आत्मसात् गरेका छन् ।

    नेपालको हकमा समाजवाद शास्त्रीय परिकल्पनाभन्दा भिन्न छ । जसले नेपाली विशेषतालाई अङ्गिकार गर्दछ । गरिबीको अन्त्य, आर्थिक समृद्धि र विकासलाई नै यसले मूलभूतरूपमा केन्द्रमा राखेको छ । सार्वजनिक, निजी र सहकारीको सहभागिता रहने गरी तीनखम्बे व्यवस्था नै राज्यको अर्थ, उद्योग र वाणिज्य नीतिमा समावेश गरिएकाले पनि समाजवादको प्रारुप यसैभित्रबाट तयार पार्न खोजिएको देखिन्छ । सामाजिक कल्याणलाई ध्यान दिइएकाले पनि नेपालले समाजवादोन्मुख प्रावधानलाई संविधानमा लिपिबद्ध गरेको चर्चा हुने गरेको छ ।

    समाजवादका बारेमा सर्वत्र चर्चा भइरहेका बेला नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको पुस्तक ‘नेपाली कांग्रेस र नेशन विल्डिङ’ आजै सार्वजनिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार काठमाडौँमा यो पुस्तक विमोचन गर्नुभयो । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अगाडि सार्नुभएको प्रजातान्त्रिक समाजवादका विशेषता के थिए र उहाँले कुन सन्दर्भमा उक्त विचार प्रस्तुत गर्नुभएको थियो भन्नेमा पुुस्तकमा व्याख्या गरिएको छ ।

    कांग्रेसभित्र बौद्धिक तथा स्पष्ट रुपमा आफ्नो विचार राख्नसक्ने नेताको परिचय बनाउनुभएका डा महतले आफ्नो स्नातकोत्तरको शोधलाई परिस्कृत गरेर पुस्तकका रूपमा प्रकाशित गर्नुभएको छ । जुन अहिले पनि सान्दर्भिक रहेको छ । बिपी कोइरालाले विसं २०१७ मा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा नेपाल कस्तो थियो ? यहाँको आर्थिक, सामाजिक तथा शिक्षाको अवस्था कस्तो थियो ? यो पुस्तकले आर्थिक पाटोबाट यी प्रश्नहरुको उत्तर दिन खोजेको छ ।

    उहाँले नेपालमा प्रजातान्त्रिक समाजवादको विचार अगाडि सार्दा नेपालको कूल साक्षर जनसङ्ख्या सायद त्यस्तै चारदेखि पाँच प्रतिशतको हाराहारीमा थियो होला । भौतिक पूर्वाधारको विकास र विस्तारको त त्यस समय झन् कुरै भएन । सडक, यातायातका साधन, बिजुली आदि उपलब्ध नै थिएनन् । यहाँसम्मकी नेपालीको औषत आयु पनि लगभग ३५ देखि ४० वर्षको हाराहारीमा हुँदो हो । हजारौँहजार बिघा जमिन एकाध पूँजीपतिको हातमा थियो । चरम गरिबी, अभाव, रोग, भोक र शोकमा रहेको देशलाई मुक्त गर्ने उद्देश्यले नै उहाँले उक्त विचार प्रस्तुत गर्नुभएको थियो ।

    एकाध पूँजीपतिको हातमा रहेको जमिनलाई खोसेर भूमिहीनलाई वितरण गर्ने विषयलाई नै बिपीले आफ्नो प्रमुुख प्राथमिकतामा राख्नुभएको थियो । त्यसबाट असमानताको अन्त्य हुन्छ भन्ने उहाँको मान्यता थियो । युरोप, अमेरिका, अफ्रिकालगायतका देशले गरेको विकास र आर्थिक प्रगतिबाट प्रेरित भएर बिपीले उक्त अवधारणा अगाडि सार्नुभएको हो । युरोपको औद्योगिक क्रान्ति, रसियाको समाजवादी क्रान्तिले पनि बिपीलाई नेपाली मौलिकतामा केही न केही नयाँ अवधारणा अगाडि सार्नुपर्छ भन्ने बल प्रदान गरेको थियो ।

    यस्तै संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा राख्नुभएको तर्क पनि अर्को महत्वपूर्ण पाटोका रूपमा देखिन्छ । उहाँले संयुक्त राष्ट्रसङ्घमार्फत नेपाललाई सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । कुनै पनि शक्ति राष्ट्रले नेपाललाई सहयोग गर्दा त्यहाँ स्वार्थ जोडिन सक्छ । संयुक्त राष्ट्रसङ्घ साझा संस्था भएकाले पनि त्यसमार्फत सहयोग लिँदा कुनै पनि स्वार्थ हुँदैन र रहँदैन भन्ने बिपीको भनाइ थियो । उहाँका यी आर्थिक, सामाजिक पारदर्शिताका पाटोहरुमा पनि यो पुस्तकसँग कुनै न कुनै रुपमा जोडिएर आएका छन् ।

    डा महतले आफ्नो पुस्तकको सन्दर्भ जोड्दै भन्नुहुन्छ, “नेपालको विकासका लागि बिपी कोइरालाले अगाडि सार्नुभएको विचार आज पनि उत्तिकै महत्वपूर्ण छ भन्ने तथ्य बुझाउनका लागि पनि पुस्तक महत्वपूर्ण छ ।” ‘बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’ले प्रकाशन गरेको पुस्तकलाई १२ खण्डमा विभक्त गरिएको छ । भारत, चीन, अमेरिका, सोभियत सङ्घ, इजरायल र बेलायतसँगको नेपालको आर्थिक सम्बन्ध, व्यापार र वाणिज्य सन्धिका बारेमा पुस्तकमा चर्चा गरिएको छ ।

    बिपी कोइरालाको सरकारले अगाडि सारेको कर नीति, सिँचाइ, ग्रामीण विकास, सहकारीको विकास र वन नीतिका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको छ । भूमि सुधार, बिर्ता उन्मूलनका अलावा नेपालको विकासको योजना, वार्षिक बजेट तथा सरकारको काम कारबाहीका विषय बुझ्न चाहनेका लागि पुस्तक महत्वपूर्ण रहेको छ । नेपाली कांग्रेसले आत्मसात् गरेको आर्थिक नीतिको मूल्याङ्कन र प्रजातान्त्रिक समाजवादको अवधारणाका विषयमा पुस्तकमा सविस्तार व्याख्या गरिएको छ ।

    कांग्रेस १४औँ महाधिवेशनको सङ्घारमा छ । बिपी कोइरालाले सन् १९५६ मा वीरगञ्जमा भएको छैटौँ महाधिवेशनमा प्रजातान्त्रिक समाजवादको विचार प्रस्तुत गर्नुभएको थियो । नागरिकको व्यापक परिचालनबाट मात्रै विकासको प्रक्रियालाई तीव्रता प्रदान गर्न सकिन्छ भन्ने उहाँको सोच थियो ।

    हरेक नेपालीको खरले छाएको भए पनि एउटा घर होस् र एउटा दुहुनो गाई होस् भन्ने बिपीको सदीक्षा थियो । त्यसमा पनि समानता झल्किन्छ । कांग्रेस महाधिवेशनमा जुटिरहेको र सरकारको नेतृत्वसमेत गरिरहेको वर्तमानमा बिपीले प्रस्तुत गर्नुभएको समाजवादको खास मक्सद के थियो भन्ने बुझ्न डा महतको पुस्तक उपयोगी छ । कूल १६३ पृष्ठको यस पुस्तकमा वरिष्ठ अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले लेख्नुभएको भूमिकाले पनि यो पुस्तकको महत्वलाई थप दर्शाउने प्रयास गरेको देखिन्छ ।(रासस)

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.