सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १०:२९ 
  • काठमाडौं,१७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो ।

    कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबनर सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेश २ मा भने अधिवेशन पछि हुनेछ ।

    प्रदेश १ मा देउवा–सिटौला सहकार्य

    कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना बढेको छ । सो प्रदशेमा सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ ।

    यसैगरी, प्रदेश १ मा संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।

    कांग्रेस पहिलोपटक प्रदेश संरचनामा

    प्रदेश २ मा निधीको हात
    प्रदेश २ को अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । तीन जना आकांक्षीमध्ये रामसरोज र कृष्ण कांग्रेस उपसभापति विमेलेन्द्र निधीनिकट हुन् । महेन्द्र राय यादव भने देउवानिकट मानिन्छन् । प्रदेश २ मा निधीकै प्रभाव बढी छ ।

    प्रदेश २ मा संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भन्ने तय भएको छैन । पर्सा जिल्लाका पूर्वसभापति राजेन्द्र अमात्यले संख्यात्मक हिसाबले कमजोरसमेत भएकाले उम्मेदवार’दयगत तय नभएको बताए ।

    प्रदेश २ का जिल्लाहरूमा क्षेत्रीय अधिवेशन नै बाँकी रहेकाले शुक्रबारसम्म क्षेत्रीय अधिवेशन सक्ने तयारी भइरहेको र आइतबार अधिवेशन गरिने प्रदेश २ का लागि संयोजक तोकिएका नेता रमेश रिजालले जानकारी दिए ।

    बाग्मतीमा त्रिपक्षीय भिडन्त हुँदै
    बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, संस्थापन इतरतर्फबाट जगदीशनरसिंह केसी उम्मेदवार तय भइसकेका छन् भने सिटौला समूहबाट काठमाडौं कांग्रेसका पूर्वसभापति एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान अघि बढेका छन् । यसरी हेर्दा बाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

    गण्डकीमा आकांक्षी धेरै
    गण्डकी प्रदेशको प्रदेश नेतृत्व लिन संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी अघि बढेका छन् । यसैगरी, कास्की कांग्रेसका सभापतिको अनुभव लिइसकेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका पूर्वसभापति शुक्रराज शर्मा, तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल संस्थापन इतर समूहबाट आकांक्षी छन् ।

    लुम्बिनीमा तोकिए
    लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुईवटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षबाट रूपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गरेका हुन् ।

    कर्णालीमा शाह र शाही
    कर्णाली प्रदेश सभापतिमा संस्थापन समूहले राजीवविक्रम शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । यस्तै संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ । शाही तरुण दलका महामन्त्री हुन् । यो प्रदेशमा संस्थापन पक्ष बलियो छ ।

    सुदूरपश्चिममा संस्थापनकै भिडन्त
    सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो प्रदेशमा संस्थापन पक्षका नेताहरू रमेश लेखक र एनपी साउदबीच नै प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धा हुने भएको हो ।

    कांग्रेस कैलालीका सभापति नरनारायण शाह, पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पुष्प शाही र गोविन्द बोहराले संस्थापन समूहबाट प्रदेश सभापतिमा आकांक्षा देखाएका छन् ।

    तर संस्थापन इतर पक्षले भने यो मौकामा आफ्ना उम्मेदवारलाई सर्वसम्मत गराउने प्रयास पनि थालेको छ । इतर समूहबाट सो प्रदेशमा पूर्वमन्त्री वीरबहादुर बलायर सभापतिका आकांक्षी छन् । यो समूहले संस्थापनको कुनै एक पक्षलाई हात लिने अवस्था पनि सो प्रदेशमा बन्न सक्छ ।

    कुन प्रदेशमा कति मतदातार ?
    शुक्रबार ६ वटा प्रदेशमा प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन दर्ता हुनेछ । ६ वटा प्रदेशमा गरी कुल ८ हजार ४ सय ६७ प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस विधानअनुसार पार्टीको प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले प्रदेश महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ ।

    निर्वाचन समितिका अनुसार प्रदेश १ मा १ हजार ७ सय ७० जनाले मतदानमा सहभागी हुन पाउनेछन् । सो प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू मतदाता हुनेछन् ।

    बाग्मती प्रदेशमा २ हजार १ सय ३७ जनाले मतदाता हुनेछन् । जसमा १ हजार २ सय ४५ प्रदेश महाधिवेशन प्रतिनिधि र ८ सय ९२ केन्द्रीय महाधिवेशन प्रतिनिधि छन् । गण्डकी प्रदेशमा १ हजार १ सय ५३ छन् । गण्डकीमा ६ सय ६० प्रदेश महाधिवेशन प्रतिनिधि र ४ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहनेछन् ।

    यसैगरी, लुम्बिनीमा १ हजार ६ सय ४२ जना प्रदेश अधिवेशनका मतदाता छन् । सो प्रदेशमा ९ सय ४९ जना प्रदेश प्रतिनिधि र ६ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतदाता छन् । यस्तै, कर्णालीमा ७ सय ४९ मतदाता छन् । जसमा ४ सय ३३ जना प्रदेश प्रतिनिधि र ३ सय १६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशमा १ हजार १६ जना प्रतिनिधि अधिवेशनमा मतदाता हुनेछन् । सो संख्यामा ५ सय ८९ प्रदेश प्रतिनिधि र ४ सय २७ केन्द्रीय महाधिवेशन प्रतिनिधि पर्छन् ।राजधानी दैनिकमा खबर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.