सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्याग, निष्ठा, इमान्दार, समन्वय, गतिशीलता : देवी ज्ञवालीका विशेषता


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार २२:२१ 
  • राजनीतिलाई त्याग, समर्पण, परिवर्तन र निरन्तरताको समग्र रुप मानेर राजनीतिमा होमिएका देवीप्रसाद ज्ञवाली कम्युनिष्ट आन्दोलनमा इमान्दार छवि बनाएका निष्ठावान नेता हुनुहुन्छ । जनता नै ज्ञानका स्रोत हुन भन्ने मान्यताले जनताका घरदैलोमा पुगेर राजनीतिक चेतना बिस्तार गर्नुका साथै जनताको सेवामा समर्पित भएका देवीप्रसाद ज्ञवालीले पार्टीले जस्तोसुकै जिम्मेवारीलाई पनि सफलतापुर्वक सम्पन्न गर्नुभएको छ । १४ वर्षको उमेरदेखिनै पार्टीमा आवद्ध भएर १९ वर्षको उमेरमानै भूमिगत हुनुभएका देवी ज्ञवालीले चितवन, मकनावपुर, बारालगायतका जिल्लामा गरेको राजनीतिक सामाजिक योगदान अनुकरणीय रहेको छ । त्यसैको जगबाट विकास भएर नै ती ठाउँहरुमा नेकपा एमालेको भण्डा शान र गर्वकासाथ फर्फराइरहेको छ । राजनीतिक नेताहरु घमण्ड,स्वार्थ र अवसरवाद त्यागेर म बाट हामीमा रुपान्तरित हुनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै २०३४ सालदेखि सक्रीय राजनीतिमा लागेको देवी ज्ञवालीलाई त्याग, निष्ठा,इमान्दार, समन्वय र गतिशीलताको पर्यायका रुपमा पनि हेरिन्छ ।

    वि।स। २०१९ सालमा पवर्तको बिहादीमा जन्मनुभएका देवीप्रसाद ज्ञवालीले २०२९ सालमा पुष्पलालको नाट्य समूहले आयोजना गरेको “पचास रुपैयाको तमसुक” नाटकमा बालपात्रको अभिनय गरेदेखिनै राजनीतिक यात्रा सुरु गर्नुभएको हो । प्रारम्भिक शिक्षा पर्वत बिहादीमा नै सुरु गर्नुभएका ज्ञवाली २०३२ सालमा चितवनमा बसाई सराई गरी आउनुभयो । २०३३ सालमा विश्व प्रकाश मावि मङ्गलपुरमा कक्षा– ६ मा भर्ना भएका देवी ज्ञवालीले विद्यार्थी आन्दोलनमा सरिक हुँदै २०३६ सालमा अनेरास्ववियु पाँचौं चितवन जिल्ला अध्यक्षको जिम्मेवारी सम्माल्नु भएको थियो । २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सी।पी। मैनालीबाट पार्टी सदस्यता लिएर सङ्गठन विस्तारमा लाग्नुभएका देवी ज्ञवाली २०३८ सालमा नेकपा मालेको पूर्णकालीन कार्यकर्ता भएर कलिलै उमेरमा भूमिगत हुनुभयो ।

    २०३८ सालदेखि २०४२ सालसम्म भूमिगत रहेर चितवनको पुर्वी र पश्चिमका स्थानहरुमा सङ्गठन निर्माणमा अनवरत रुपले गरेको योगदान सम्मान योग्य रहेको छ । २०४२ साल माघबाट नेकपा मालेकोे मकनावपुर जिल्ला कमिटिमा रहेर पुर्वी कमवानपुरका तत्कालीन १५ वटा गाउँ पञ्चायतको इञ्चार्ज भएर सङ्गठन निर्माण गर्नुभएका देवी ज्ञवालीले २०४६ सालमा नेकपा मालेको सिराहामा आयोजना भएको चौथो महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधित्व गरी सहभागी हुने अवसर पाउनुभएको थियो । राजनीतिमा थकाइ भन्ने शब्द नै हुँदैन भन्ने कमरेड मदन भण्डारीको भनाइलाई अनुसरण गर्दै अगाडि बढेका देवी ज्ञवालीलाई पार्टीले २०४६ सालमा बारा जिल्लाको सचिव र नारायणी अञ्चल कमिटिको जिम्मेवारी प्रदान गरेको थियो । २०४६ सालको जनआन्दोलनमा बारा जिल्लाको आन्दोलनको नेतृत्व लिएर गतिशील रुपले अगाडि बढिरहेका देवी ज्ञवाली कमरेड मदन भण्डारीको आग्रहमा २०४७ सालमा चितवनमा आएर नेकपा माले चितवनको प्रथम जिल्ला अभिवेशनबाट पार्टी सचिवको जिम्मेवारी लिनुभयो ।

    २०४९ सालमा काठमाडौंमा आयोजना भएको पाँचौं महाधिवेशनमा सहभागी भएर जनताको बहुदलीय जनवादलाई जनताको घर दैलोमा पु¥याउने काममा अनवरत लागिरहनुभयो । उनको आत्मा विश्वास र निरन्तरतालाई मूल्याङ्कन गरेरनै पार्टीले २०५०–२०५३ सम्म नारायणी अञ्चल सचिवको जिम्मेवारी प्रदान गरेको थियो ।

    सङ्गठन विस्तार र जनताको सेवामा उनले गरेको योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले २०५४ सालको स्थानीय निर्वाचनमा भरतपुर नगरपालिको निर्वाचनमा उपमेयरमा उठायो र जनताको अपार मायाका कारण अत्यधिक मतले विजयी हुनुभयो । उपमेयरको पदावधी सकिएपछि २०५९ देखि २०६२ सम्म पुनः चितवन जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
    २०६१ सालको सातौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएर संविधान सभाको माग राख्नेमध्ये उहाँ पनि हुनुहुन्थ्यो । प्रस्ताव तत्काल पास हुन नसकेपनि देशको आवश्यकता अनुसार उहाँहरुको प्रस्तावलाई धेरैले स्वागत गरेका थिए । त्यतिबेला पार्टीले संविधानसभाको प्रस्ताव पास गरेको भए पार्टी शसक्त भन्ने र माओवादीको रवैया कमी हुने उहाँको विश्वास थियो ।

    राजनीतिमा गतिशील रहेर निरन्तर परिवर्तनको पक्षमा आवाज उठाउने देवी ज्ञवाली २०६२ साल माघ १९ गते शाही कु को विरोधमा सहिदचोकमा निकालेको विरोध ¥यालीमा सहभागी हुँदा प्रहरीद्वारा प्रकाउ परी ३ महिनासम्म नजरबन्दमा रहनुभएको थियो ।

    २०६४ सालको संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट उम्मेद्वारी दिएर सम्मानजनक मतले पराजित भएपनि पार्टीले दिएका हरेक जिम्मेवारी ईमान्दार भएर पुरा गरेका देवी ज्ञवाली २०६५ सालमा बुटवलमा आयोजना गरिएको आठौं महाधिवेशबाट नारायणी अञ्चलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०६७ सालमा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले भारत प्रवास इञ्चार्जको जिम्मेवारी दिएरपछि २०७० सालसम्म भारतमै रहेर पार्टी निर्माणको काम गर्नुभएको ।

    २०७१ सालको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपनि पार्टीले २०७१–२०७५ सम्म सल्लाहाकार समिति सदस्यको जिम्मेवारी दियो । इमान्दार कार्यकर्तालाई पार्टीको काम गर्न जित र हारले कुनै फरक पार्दैन भन्ने उदाहरण देवी ज्ञवालीको जीवनीबाट नै प्रष्ट हुन्छ । उहाँले पार्टीले सञ्चालन गरेका विभिन्न अभियानहरुमा केन्द्रीय प्रतिनिधि भएर महोत्तरी,अर्घाखाँचीलगायतमा जिल्लाहरुमा पुगेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो ।

    २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगर पालिकाको मेयरमा जितेको भएपनि मतपत्र च्यातेर हराइएका देवी ज्ञवाली २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको केन्द्रीय सदस्यमा मनोनयन हुनुभयो । २०७७ वैशाखबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी लिनुभएका ज्ञवालीले छोटो समयमानै सुकुम्वासीको हितमा धेरै सुधारका कामहरु गर्नुभएको थियो । देशका ७ सय ५३ पालिकाहरुमध्ये ७ सय ४४ पालिकासँग समन्वय गर्नुभएको थियो भने ५ सय १९ पालिकामा सूचना प्रकाशित गरेर काम अगाडि बढेको थियो । ३ सय १९ पालिकामा त सम्पूर्ण लगत तयार गरी ९ हजार बिघा जग्गा नापी गरिएको थियो । तर विडम्बना परमादेशबाट गठन भएको सरकारले भूमिहीन सुकुम्वासीहरुको हितमा गरेको काम देख्नै नसकेर २०७८ असोजमा आयोगनै विघटन गर्ने निन्दनीय काम ग¥यो ।

    दशौं महाधिवेशनको तयारीको क्रममा नेकपा एमाले सांकृतिक विभागको उपसंयोजकको जिम्मेवारीमा रहेर काम गरिरहनुभएका देवी ज्ञवालीलाई नेकपा एमालेको चितवनमा आयोजना भएको १० औं केन्द्रीय महाधिवेशनमा चितवनको जनपरिचालन समितिको संयोजकको जिम्मेवारी रहेको छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिइरहनुभएका देवी ज्ञवालीले १० औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने मनसायमा हुनुहुन्छ ।
    पार्टीको चौथो महाधिवेशदेखि दशौं महाधिवेशन सफल बनाउन जिम्मेवार भएर काम गर्नुभएका देवी ज्ञवाली विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेर काम गर्नुभएको छ । । समाजसेवाविनाको राजनीति सफल हुँदैन भन्ने मान्यता राख्ने देवी ज्ञवाली विभिन्न ठाउँमा विद्यालयहरुको स्तरोन्नति गर्नेदेखि लिएर प्राकृतिक प्रकोपहरुमा पनि अग्रमोर्चामा रहेर काम गर्नुभएको छ ।

    त्याग,निष्ठा,इमान्दार,समन्वय,धैर्यता,समर्पण,गतिशीलतालाई आत्मासाथ गर्दै व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टीमा निरन्तर क्रियाशील रहनुभएका देवी ज्ञवालीलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउनु सच्चा, इमान्दार कार्याकर्ताप्रति न्याय दिलाउनु नै हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.