सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिवेणीधाममा पर्यटकको आगमनमा वृद्धि


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १०:५७ 
  • कावासोती, ५ मङ्सिर । धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधाम (त्रिवेणी क्षेत्र) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तीर्थस्थल हो । एक महिनाअघि भारतसँगको सीमानाका खुला भएपछि भारतबाट धार्मिक पर्यटकको आगमन बढेको हो ।

    पहिलो र दोस्रो लहरको कोभिडका कारण यहाँ भक्तजनको आगमन प्रभावित बनेको थियो । दोस्रो लहरको कोभिड सङ्क्रमण कमी आए पनि भारतसँगको सीमानाका बन्द रहेका कारण त्रिवेणी क्षेत्र सुनसान बनेको तर नाका खुलेसँगै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको गजेन्द्रमोक्ष दिव्यधाममा उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो । कृष्ण प्रपन्नाचार्यले दिनुभएको जानकारीअनुसार भारतसँगको सीमानाका खुलेपछि दैनिक ५०० हाराहारीमा त्रिवेणीधाममा दर्शन र घुम्नका लागि आउने गरेका छन् ।

    त्रिवेणीधाममा आउने धार्मिक पर्यटकमा अधिकांश भारतीय रहने गरेका छन् । त्रिवेणी पुग्ने नेपालीको सङ्ख्या निकै कम हुने गरेको छ । कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीमा आउने पर्यटकमा ६५ प्रतिशत भारतदेखि र ३५ प्रतिशत नेपाली छन् । पछिल्लो समय नेपालतर्फबाट आउने बाटोघाटो बिग्रेका कारण टाढाबाट आउने नेपालीको सङ्ख्यामा कमी आएको छ । नजिकै पायक पर्नेहरू मात्रै त्रिवेणी पुग्ने गरेका छन् ।

    त्रिवेणीधामको दर्शन गर्नकै लागि भनी टाढादेखि आउने नेपालीहरूको सङ्ख्यामा कमी हुँदै गएको कृष्ण प्रपन्नाचार्यले बताउनुभयो । “नेपालतिरबाट बाटो असहज हुँदा कम धार्मिक पर्यटक आउने गर्नुहुन्छ, भारतको नाका खुलेपछि उल्लेख्य मात्रा भारतीय पर्यटक यहाँ आउने गरेका छन्”, प्रपन्नाचार्यले भन्नुभयो, “६५ प्रतिशत त भारतबाट धार्मिक पर्यटक आउने गरेका छन् ।”

    यहाँ शनिबार र आइतबार पर्यटक बढी आउने गर्दछन् । माघे औँसी, साउन महिनाको सोमबार, नयाँ वर्षजस्ता विषेश पर्व र विषेश दिनमा यहाँ २० हजारसम्म भक्तजन तथा पर्यटकको आगमन हुने गरेको कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

    पछिल्लो समय यहाँ पर्यटकको मुख्य आकर्षण बनेको छ सिसमहल । सिसमहलले त्रिवेणीको नामै परिवर्तन गरेको प्रपन्नाचार्य बताउनुहुन्छ । अहिले सिसमहल भएको ठाउँ भनेर त्रिवेणी चिनिन थालेको उहाँ बताउनुहुन्छ । सिसमहलको भित्री भागमा सिसाको पर्खाल बनाइएको छ । यहाँभित्र प्रवेश गर्दा एकै व्यक्तिका धेरै आकृति देखिन्छन् । महलभित्र आकर्षक राधाकृष्ण भगवान्को मूर्तिसमेत राखिएको छ । सिसमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ । धामको खर्च व्यवस्थापनका लागि सिसमहल मुख्य स्रोत बनेको प्रपन्नाचार्यले बताउनुभयो ।

    यस्तै यहाँको अर्को आकर्षण नारायणी नदीमा डुङ्गा शयर बनेको छ । नारायणी नदीको मनोरम दृश्यावलोकन गर्दै डुङ्गामा शयर गरी पर्यटकले रमाइलो गर्ने गर्छन् भने यहाँका मानिसको आयस्रोतको माध्यमसमेत बनेको छ । तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको सङ्गमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो । यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृश्यावलोकन गर्न पाइने हुँदा यहाँ पुग्न जो–कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ ।

    धाम क्षेत्रमा निर्माण गरिएका विभिन्न मठमन्दिरले यहाँको सुन्दरतालाई बढाएको छ । गजेन्द्रमोक्ष दिव्यधाममा आएका पर्यटकलाई वैदिककालीन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । छ बिघा क्षेत्रफलमा फैलिएको गजेन्द्रमोक्ष दिव्यधाम परिसरमा विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित सिसमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको छ ।

    अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को सक्रियतामा धाम परिसरमा गजेन्द्रमोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशालालगायत विभिन्न संरचना निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, बाल्मिकी आश्रम, महर्षि वाल्मिकीले आदि काव्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.