सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसान रहेको पर्यटकीयस्थलमा विदेशी पर्यटकको चहलपहल


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १६:१८ 
  • भक्तपुर, २७ कात्तिक । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको हो ।लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।

    यहाँ आउनेमा भारतीय पर्यटक सबभन्दा बढी रहेकामा युरोपका पर्यटकको पनि आगमन बढ्न थालेको छ । नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकबिना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताउनुभयो ।पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ । होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्ने गरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ । यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्ने गरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

    विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भन्नुभयो, “आर्थिक वर्ष २०७६÷७७ मा करिब रु २६ करोड पर्यटन शुल्कबाट राजस्व सङ्कलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७÷७८ मा जम्मा रु २९ लाखमात्रै पर्यटन शुल्क उठ्यो, चालु आवमा भर्खर पर्यटक आउन थालेका छन् ।”

    पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिँदै उहाँले कोरोना भाइरसको महामारीका कारण दुई वर्षमा करोडौँ नोक्सान व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउन महिनामा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म एक हजार ९२३ पर्यटकको आगमन भइसकेको छ । पर्यटक आउने सङ्ख्या बढ्दै गएको छ ।

    पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको र यो नै मुख्य आयस्रोत रहँदै आएको छ । विगत वर्षमा यहाँ आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन १४ स्थानमा काउन्टर स्थापना गरेको छ ।
    नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनःनिर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महत्वपूर्ण सम्पदाको पुनःनिर्माण पनि थालेको छ । जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनःनिर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनःनिर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ ।

    नेपालमा अंङ्ग्रेजी महिनाको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्ततिर स्वदेश फर्कने गरेका छन् । केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करिब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए ।

    पर्यटकको बसाइ लम्ब्याउन आवश्यक ठानेर नगरप्रमुख सुनिल प्रजापतिले व्यवसायीहरूसँग छलफल गर्दै विभिन्न अयोजना अगाडि सार्नुभएको थियो । कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि त्यस्ता योजना पनि थाँती रहेका थिए । पर्यटकको आगमन बढ्न थालेपछि तीनलाई आकर्षित गर्न, बसाइ लम्ब्याउन र रात्रिकालीन पर्यटनलाई बढावा दिनेबारे कार्यक्रम ल्याउने योजना बानइएको छ ।

    दुई वर्षपछि पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको पोटरी स्क्वायरका क्यूरो व्यवसायी विनोद प्रजापतिले बताउनभयो । विदेशी पर्यटकलाई आकर्षित गर्न सरकार र स्थानीय तहले आफ्नो क्षेत्रमा विशेष योजना ल्याएमा थला परेको पर्यटन व्यवसायले पुनःजीवन पाउने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.