सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १५:५२ 
  • काठमाडौँ, २६ कात्तिक । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु गरेको छ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धुलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैँ पानी हाल्नुहुन्छ । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उहाँले सुनाउनुभयो । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको श्रेष्ठको गुनासो छ ।

    आर्थिक वर्ष २०७५÷२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

    सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् ।

    नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६÷२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७७÷२०७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

    सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिच्छ्याइएको छैन । एक दिन काम भयो भने १० दिन काम रोकिने गरेको छ ।

    सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित छन् । पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीयवासी राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

    ढिलो चाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ ।

    करोडौँ लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउनुहुन्छ । सडक विस्तार भएपछि सवारी तीव्र गतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी किशोरवयकाले तीव्र गतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो । सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.