सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १३:२१ 
  • काठमाडौँ, २६ कात्तिक  ।  बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।

    नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढाइएको छ । त्यस्तै पूर्वदेखि पश्चिमसम्म बिजुली आदान प्रदानका लागि पनि उच्च क्षमताका आयोजना निर्माणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालय मातहतको विद्युत् विकास विभागमा ४०० केभी क्षमतामा प्रसारण लाइन निर्माणका लागि परेको आवेदन हेर्दा पनि एउटा सकारात्मक सन्देश दिएको छ ।

    प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरेका छन् । प्रसारण ग्रीड कम्पनीले इन्डो नेपाल बोर्डर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको अध्ययन गरिरहेको छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा कूल २७ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माण हुनेछ । सो प्रसारण लाइनले दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रसारण गर्नेछ ।

    यस्तै अरुण करिडोरमा सोही कम्पनीले ३५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार २६० मेगावाट बिजुली प्रसारण गर्नेछ । सरकारी स्वामित्वको सो कम्पनीले भेरी करिडोरमा नलगाड–मैनताडा ७५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बिजुली प्रवाह गर्दछ ।

    छिन्चुदेखि बुटवलसम्म कूल २१६ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन एससी पावर कम्पनीले अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले ८६० मेगावाट बिजुली प्रवाह गर्नेछ । प्राधिकरणले दुधकोशी जलाशयको बिजुली प्रवाहका लागि ९१ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । सो प्रसारण लाइनले ६०० मेगावाट बिजुली प्रवाह गर्नेछ ।

    उत्तरी छिमेकी देशसँग नेपालको प्रसारण प्रणाली जोड्ने गरी प्रस्ताव गरिएको ८० किलोमिटर लामो रातमाटे–रसुवागढी ४०० केभी क्षमताको प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबीच विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइनको अध्ययनको काम अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएको छ ।

    प्राधिकरणले नै बुढीगण्डकी करिडोरमा ८५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गर्दै अध्ययन गरिरहेको छ । तिङ्ला हबदेखि ढल्केबरसम्म १५५ किलोमिटर, दमौली, कुश्मा बुर्तीबाङ हुँदै रुकुमको बाफीकोटसम्म २०५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइनको अध्ययन भइरहेको छ । यी सबै प्रसारण लाइनले दुई हजार ५०० मेगावाटका दरले बिजुली प्रसारण गर्नेछन् ।

    प्राधिकरणले नै अध्ययनको काम गरिरहेको अन्य आयोजनामा न्यू बुटवल कोहलपुर १५० किलोमिटर र दोधारा–दैजी ९३ किलोमिटर लामो प्रसारण लाइन छन् । ती आयोजनाले एक हजार ९३३ मेगावाट बिजुली बोक्नेछन् ।

    सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णाली र किमाथाङ्का अरुणमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गरेको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको माथिल्लो अरुणको विद्युत्गृहदेखि ६.५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको पनि अध्ययन भइरहेको छ ।

    प्राधिकरणले नै लमही–छिन्चु ९४ किलोमिटर, सितलपाटी–इनरुवा १३० किलोमिटर तथा अरुण हबदेखि दुधकोशी ११५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन गरिरहेको छ । ती प्रसारण लाइनले चार हजार ४०० मेगावाटसम्म बिजुली प्रसारण गर्नेछन् ।

    राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बझाङ पश्चिम सेती ७२ किलोमिटर र पश्चिम सेती– ोधारा १५५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । ती आयोजना पनि अध्ययनका विभिन्न चरणमा छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्तर दक्षिण करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको छ ।

    काठमाडौँको नाङ्लेभारेदखि नुवाकोट रातमाटे हुँदै बुटवल पुग्ने ३१२ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा जटिलता उत्पन्न भएको छ । सो परियोजनामा अमेरिकी सहयोग रहनेछ । एमसिसीको सहयोगमा अगाडि बढाउन लागिएको आयोजना राजनीतिक चक्रव्यूहमा फसेको छ ।

    तीमध्ये केही उच्च क्षमताका प्रसारण लाइन अध्ययन सकिन लागेका छन् भने केहीको प्रारम्भिक अध्ययनको क्रममा छन् । नेपालमा प्रसारण लाइन निर्माण गर्नु आफैँमा सबैभन्दा चुनौतीपूर्ण काम हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइमा हरेक प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर हो ।

    नेपालमा विशेषगरी वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी जग्गा प्राप्ति, प्राविधिक तथा अन्य स्थानीय समस्याको जञ्जालमा आयोजनाहरु फसेका छन् । लामो समयदेखि निर्माण सुरु भएका आयोजनाहरु रुग्ण बनिरहेका छन् । काठमाडौँ उपत्यकामा नै जग्गा प्राप्तिमा समस्या भएपछि विगत लामो समयदेखि काम हुन नसकेको अवस्था छ ।

    अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ । देशभित्रै उत्पादन भएको बिजुली खपत गर्नका लागि पनि ठूलादेखि मझौला प्रसारण लाइन निर्माण जरुरी छ । तर, समस्या यति धेरै छ कि, भनिसाध्ये छैन ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सरकारले सहजीकरण गर्नु त परै जाओस् कुनै पनि सहयोग उपलब्ध नहुने अवस्थाका कारण प्रसारण लाइन आयोजनाहरु एक पछि अर्को गर्दै समस्यामा फसिरहेका छन् ।

    विभिन्न सात मन्त्रालय, २३ विभागमा धाउनुपर्ने अवस्थाका कारण आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । प्राधिकरणले नै निर्माण गरिरहेका आयोजना समस्यामा फसेका छन् । जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादन गरिसकेको भए पनि प्रसारण लाइन नहुँदा खेर गइरहेको छ । रामेछापको गज्र्याङ–खिम्तीमा अवस्था यस्तै देखिएको छ ।

    लामो प्रयासपछि बल्ल सोलु करिडोर प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढेको छ । तर, भरतपुर बर्दघाट खण्डमा दुई वटा टावर निर्माण हुन नसक्दा पूर्वको बिजुली पश्चिम नेपाल पठाउन समस्या भइरहेको प्राधिकरणको भनाइ छ ।

    ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल प्रसारण लाइन निर्माणमा देखिएको जटिलतालाई समग्रतामा सम्बोधन गर्ने गरी प्रयास भइरहेको बताउनुहुन्छ । सरकारले अत्यावश्यक प्रसारण लाइन निर्माणमा देखिएको जटिलता फुकाउन शीघ्र निर्णय गर्नुपर्ने ऊर्जा उद्यमीको माग छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.