सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै


  •    न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार ११:१२ 
  • पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।

    महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिनुभएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ ।

    किराँत धर्म तथा साहित्य उत्थान सङ्घसहित विभिन्न सङ्घ संस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ । यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ । उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनबाट धार्मिक प्रवचनको कार्यक्रमसमेत राखिएको छ । जन्मजयन्तीको समारोह हुने स्थानमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाइ छ ।

    विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं २ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तान उहाँको जन्म भएको थियो । जन्मको नरध्वज लिङ्देन रहनुभएका उहाँ कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ । १६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थाल्नुभएका फाल्गुनन्द १९१४ को पहिलो विश्वयुद्धमा समेत सामेल हुनुभएको थियो । तर मानव–मानव बीचको लडाइँ र मारामारबाट शान्ति नहुने बुझेर सैनिक जागीर त्यागी नेपाल फर्केर हाल पाँचथरको फिदिम नगरपालिका–३ चोकमागूमा पर्ने लब्रेकुटीमा आई साधना र तपस्यामा तल्लीन हुनुभएको थियो । तत्कालीन अवस्थामा धर्म, संस्कार र संस्कृतिमा देखिएका विकृति, विसङ्गति र कुरीतिलाई हटाई मौलिक धर्मसंस्कृतिको सम्वद्र्धनका लागि विसं १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका जिम्मेवार अगुवाको भेला गराई १० बुँदे सत्य धर्म मुचुल्का लागू गराई आजीवन किराँत धर्मको प्रचारमा लाग्नु भएपछि फाल्गुनन्द महागुरुका रुपमा चर्चित हुनुभएको थियो ।

    लिम्बू समुदायले फक्ताङलुङ भन्ने गरेको ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमशृङ्खला किराँतीको मोक्षस्थल रहेको परिभाषित एवं प्रचारित गरेर उहाँले मोक्षप्राप्तिको मार्गसमेत देखाउनुभएको थियो । किराँतीको मौलिक धर्म र संस्कृतिको प्रचार गर्दै नेपालका विभिन्न जिल्लासहित भारत, तत्कालीन सिक्किम र भुटानमा समेत पुग्नुभएपछि राणा शासकले उहाँलाई देशद्रोहीको मुद्दा समेत लगाएका थिए । फाल्गुनन्दको विसं २००५ मा हाल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने इम्वुङको हाङयक भन्ने स्थानमा देहवसान भएको थियो । उहाँको समाधिस्थल फाल्गुनन्द र फिदिमको सिमानामा पर्ने सिलौटीमा रहेको छ ।

    फाल्गुनन्दलाई सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको स्मृतिमा २०५० सालमा सरकारबाट रु १५ को हुलाक टिकटसमेत प्रकाशित छ । उहाँको जन्मजयन्तीमा प्रदेश नं १ मा सार्वजनिक बिदा हुन थालेको छ । आफ्नो मौलिकता बिर्सन नहुने, धर्म, संस्कार र संस्कृतिका नाममा तडकभडक गर्न नहुने, आफ्नो गच्छे (क्षमता)अनुसार धर्म, संस्कार र संस्कृति मनाउनुपर्ने, मदिरा सेवन गरी आर्थिक र सामाजिक रुपले भ्रष्ट हुन नहुने, पशु बलि गर्न नहुने, नैवेद्य तथा फलफूल चढाए तागेरानिङ्वाभुमाङ (परमेश्वर भगवान) खुशी हुने, छोरी चेलीको विवाह गर्दा रित लिन नहुने, सिरिजङ्गा लिपिको प्रयोग, मातृभाषाको प्रयोग र संरक्षण गर्नुपर्ने, स्वदेशी कपडाको प्रयोग गर्नुपर्नेजस्ता मौलिक सामाजिक परम्पराका लागि महागुरु फाल्गुनन्दले अभियान चलाउनुभएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमको भनाइ छ । उहाँलाई किराँत धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक भन्ने गरिन्छ ।

    महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुनुहुन्थ्यो । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । उहाँले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गर्नुभएको थियो । इलामको माङसेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गर्नुभएको माङहिम अहिले किरात धार्मिकस्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरका लबे्रकुटी, सिलौटीलगायत स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको लब्रेकुटी क्षेत्र तथा किराँत धर्मको संरक्षणमा सक्रिय ध्रुवकुमार तुम्बापोको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.