सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार ०८:१२ 
  • टेकराज (आनन्द) पोखरेल
    नवलपुर, २१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ ।

    आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । “सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ”, दिस्टीले भन्नुभयो, “वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।” नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताउनुभयो ।

    “अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ”, आयोजना प्रमुख दिस्टीले भन्नुभयो, “निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेका छन् ।” तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताउनुभयो । “अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम) सकिएको छ”, दिस्टीले भन्नुभयो, “केहीमा भने सुपर स्ट्रक्चर ९पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्ने काम०को लागि फर्मा राख्ने काम भइरहेको छ ।”

    आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताउनुभयो । “कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए केही भने बिरामी हुने डरले काममा आउनै छाडे”, दिस्टीले भन्नुभयो, “मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौँ ।” अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताउनुभयो ।

    “निर्माण कम्पनीले मजदुरलाई आफ्नै क्याम्पमा राखेर निर्माणको काम अगाडि बढाइरहेको छ”, दिस्टीले भन्नुभयो, “कोभिडको महामारी सामान्य अवस्थामा आउनेबित्तिकै मजदुरको सङ्ख्या पनि बढ्छ र निर्माणले गति लिनेमा हामी विश्वस्त छौँ ।” आयोजनाको कामको शुरुआती समयमा ६०० जनासम्म मजदुर निर्माणमा खटिएकामा अहिले घटेका उहाँको भनाइ छ । साना पुल निर्माणको काम सकिएपछि अन्य कामलाई प्राथमिताका आधारमा अगाडि बढाइने आयोजना प्रमुख दिस्टीले बताउनुभयो ।

    नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन् । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताउनुभयो ।

    नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी) लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ । दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.