सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गहुँ उत्पादन घट्यो, हावाहुरीले तरकारीमा क्षति


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १४:३३ 
  • रुकुम (पूर्व),२९ वैशाख । रुकुम–पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।

    यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जनाएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

    जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जनाएको छ ।

    सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।

    पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

    मकैको बीउ अभाव

    रुकुम स् पूर्वमा मकैको बीउ अभाव भएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ । लामो समयको खडेरीपछि परेको पानीले जमीन भिजेपछि मल बोक्ने र खेतबारी खनजोतमा व्यस्त भएका कृषक बीउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बीउ उत्पादन हुने गरेको छैन ।

    बाहिरबाट बीउ आयात गर्ने गरिएकामा यस वर्ष आयात गर्न नसकिएको गाउँपालिकाले जनाएका छन् । सिस्ने गाउँपालिकाले यस वर्ष १५ क्विन्टल उन्नत जातको मकैको बीउ ल्याउने योजना बनाएको तर बीउ अभावले जिल्लामा मनकामना जातको आठ क्विन्टल मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिनुभयो । सिस्ने गाउँपलिका–१ र २ मा सबैभन्दा बढी मकैको बीउ आवश्यक छ । १ र २ नं वडामा सलह किराले सबै मकै सखाप पारेपछि बीउसमेत उत्पादन नभएको त्यहाँका कृषकले बताएका छन् ।

    सोही कुरालाई दृष्टिगते गर्दै १ नं वडामा दुई क्विन्टल र २ मा चार क्विन्टल मकैको बीउ पठाएको प्राविधिक सहायक ओलीले बताउनुभयो । उहाँका अनुसार, सिस्ने–७ र ८ मा एकएक क्विन्टल मकैको बीउ पठाइएको छ ।

    यस्तै, अन्य ३, ४, ५ र ६ नं वडामा भने हुरेड कार्स रुकुम –पूर्वले लगभग साढे आठ क्विन्टल मकैको बीउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बीउ आउन नसकेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

    भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको थियो । कृषकको माग सङ्कलन गरी २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको गाउँपालिकाले बीउ अभावमा ल्याउन नसकेको गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक शिखर विश्वकर्माले बताउनुभयो । बीउ नआएपछि अहिले भूमेका कृषकले पुरानै बीउ लगाएका छन् । यसले गर्दा रोग, किराको प्रकोप हुने र उत्पादनमा गिरावट आउन सक्ने उहाँले बताउनुभयो ।

    यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा भने स्थानीय बीउ छ । यसपालि गाउँपालिकाले बीउ खरीदका लागि बजेट पनि नछुट्याएको र बाहिर पनि बीउको अभाव भएकाले उन्नत जातको मकैको बीउ भित्र्याउन नसकिएको गाउँपालिका कृषि शाखाका नाप्रास ओमप्रकाश ओलीले बताउनुभयो ।

    हावाहुरीले तरकारी तथा फलफूल खेतीमा क्षति

    बाँकेमा गए राति आएको हावाहुरीले किसानको तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पुयाएको छ । हावाहुरीले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानलाई ठूलो क्षति पुगेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा कृषक गेहेन्द्र धितालले बताउनुभयो ।

    उहाँका अनुसार, गए राति आएको हावाहुरी सँगैको पानीले पाकेर ठिक्क भएको टमाटर कामै नलाग्ने गरी क्षति पु¥याएको छ । यसैगरी, लौकी, करेलालगायत तरकारी र आँप तथा लिचीको फल झारेर लाखौँको क्षति पुयाएको छ ।

    खजुरा गाउँपालिका–२ मा रहेको खजुरा नेचर गार्डेन एन्ड एग्रो फार्ममा पनि हावाहुरीले ठूलो क्षति पुयाएको छ । गए राति आएको हावाहुरीले रु २० लाखभन्दा बढीको नोक्सानी पु¥याएको सञ्चालक टिएस ठकुरीले जानकारी दिनुभयो ।

    फार्ममा टमाटर, क्याप्सिकम, लौकी, करेला उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन हुने तरकारी फार्मबाटै खरीद बिक्री हुने गरेकामा हावाहुरीले नोक्सानी पु¥याएपछि लाखौँको क्षति भएको ठकुरीको भनाइ छ ।

    हावाहुरीले सबैभन्दा ठूलो क्षति आँप र लिचीको फलफूल खेतीमा पु¥याएको छ । कोहलपुर नगरपालिका–१५ तीनघरुवास्थित व्यावसायिक आँप तथा लिची खेतीमा ठूलो क्षति पु¥याएको पञ्चशील कृषि फार्मका सञ्चालक सूर्य ढकालले बताउनुभयो । उहाँका अनुसार, आँप र लिचीका फल हावाहुरीले भुइँभरि बनाएको छ । यो वर्ष आँप पर्याप्त फल नलागेर आम्दानी कम हुने अपेक्षा गरेकामा हावाहुरीले थप क्षति पु¥याएको छ ।

    जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक तरकारी तथा फलफूल खेती गरेका किसानले हावाहुरीले क्षति पु¥याएको गुनासो गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । किसानको क्षति विवरण सङ्कलन गरेर क्षतिको यकिन गरिने उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
    • चक्कु प्रहार गरी युवकको हत्या
    • सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    • नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
    • घान्द्रुकमा पर्यटकीय चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.