सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाबुको व्यावसायिक बिँडो थाम्दै छोराहरु


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार २२:०५ 
  • नारायण अधिकारी
    चितवन, ५ चैत । युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढ्नुभएको छ ।

    बुबा नारायणप्रसाद गौतमले विसं २०२७ मा शुरु गर्नुभएको किराना व्यवसायबाट विस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ । अहिले किरानाबाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ । यी व्यवसायलाई छोरा गौतमले साथ दिँदै आउनुभएको छ ।

    चितवनका युवा व्यवसायी गौतम भन्नुहुन्छ, “मैले सानै उमेरदेखि बुबालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु ।” उहाँले बाबुले शुरुआत गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुवात बुबाले गर्नुभयो, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो ।” बुबाको भन्दा फरक व्यवसाय गर्नुपरेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उहाँको भनाइ छ । कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उहाँहरुको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरि बिक्री वितरण हुने गरेको छ ।

    विसं २०४३ सालमा नारायणगढ बजारमा खाजा घरका रूपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भइसकेको छ । विष्णुप्रसाद सापकोटाले शुरु गर्नुभएको यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लैजानुभएको छ । गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लाग्नुभएको हो । बुबाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहनुभएको छ ।

    उहाँले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रित भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि विस्तार भएको छ । शाकाहारी भोजनालय र मिठाईका लागि ख्याति कमाएको वैष्णवले अहिले प्याकिङ मिठाई उत्पादन शुरु गरेको छ । नमकिन, सोनपापडी, रसवरी, लालमोहनजस्ता मिठाई उत्पादन गरी देशका प्रमुख शहरसम्म पुर्याइएको छ । कृष्णले भन्नुभयो “अहिले हामीले मिठाईलाई देशैभरि पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौँ ।” बाबुको मिहिनेतसँगै स्थापना भएको वैष्णव ब्राण्डलाई कृष्ण देशव्यापी बनाउन सफल हुनु भएको छ । बुबाकै कारण आफूलाई व्यवसाय विस्तारमा सहज भएको उहाँको भनाइ छ ।

    विसं २०३६ मा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय शुरु गर्नुभएका ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आउनुभएको छ । आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले विसं २०५५ यता नेतृत्व गरेर बाबुको पेशा सम्हालेको बताउनुभयो ।

    लामिछाने विद्युत् सप्लायर्सका नामबाट शुरु भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसायमा लगानीसमेत गर्नुभएको छ । आशिर्वाद समूहका पार्ट्स, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उहाँको लगानी छ । उहाँले भन्नुभयो, “सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ ।” बाबुले शुरु गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उहाँको भनाइ छ । लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरि पुग्ने गरेको छ ।

    चितवनमा ख्याति कमाएको कर्मा रेष्टुराँको सञ्जाल विस्तार भइरहेको छ । बाबु दुर्गादत्त अधिकारीले नारायणगढमा शुरु गरेको व्यवसाय छोरा अमित र अविनाशले विस्तार गरिरहनुभएको छ । अहिले काठमाडौँको चाबहिल र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ । केही दिनभित्रै भरतपुरमा अर्को शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ ।

    सौराहामा होटल व्यवसाय गर्दै आउनुभएका सुमन घिमिरे बाबु हरिक्तभक्त घिमिरेले शुरु गर्नुभएको व्यवसायलाई विस्तार गरेर अगाडि बढ्नुभएको हो । उहाँले भन्नुभयो, “बुबाले शुरु गर्नुभएका कारण आफूले धेरै मिहिनेत गर्नुपरेन ।” युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रियरूपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ । जङ्गल सफारी लजको नाममा सञ्चालित होटल अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ बन्ने गरेको छ । उहाँले भन्नुभयो, “सेवाग्राहीको चाहनाअनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ ।”

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबुबाजेको पेशा नअँगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अङ्गाल्दै आएको बताउनुभयो । कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समयसापेक्ष परिष्कृत गर्दै अँगाल्नेलाई सफलता मिलेको उहाँको भनाइ छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल बाबुले गर्दै आएको व्यवसाय छोराहरुले सम्हाल्दै आएको बताउनुहुन्छ । बाबुको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उहाँले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राख्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.