सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको लक्ष्मीनिवास होमस्टेमा लोकसंस्कृति र पञ्चेबाजा


  •    न्युजभित्तो/१८ फाल्गुन २०७७, मंगलवार ०८:४३ 
  • कृष्ण आचार्य
    माडी, (चितवन), १८ फागुन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो ।

    माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो । घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उहाँले बताउनुभयो । “गाउँ सुनसान भयो । भएका मानिसहरु पनि शहर जान थाले । गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले । जग्गा बाँझो छ । यसलाई पनि सदुपयोग गरौँ भन्ने लाग्यो”, अधिकारीले भन्नुभयो ।

    एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् । घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताउनुभयो ।

    घरबासमा रहेका पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधिमा ५०० पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिनुभयो । “शान्त ठाउँ छ । शहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन यहाँ आउन आग्रह गर्छौँ”, उहाँले भन्नुभयो ।

    घरबासमा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छ । बाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ । स्मृति बाटिका निर्माणका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले रु ७२ लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट रु ४० लाख र सङ्घीय सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । पुष्पमदन स्मृति बाटिका जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो ।

    संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताउनुभयो । “हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ । घरबास थोरै भएको छ । थप्ने तयारीमा छौँ । विदेश गएर फर्किएकाहरु पनि घरबासमा आबद्ध भएका छन् । अन्यलाई पनि फर्कन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो । राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवाडीको भनाइ थियो ।

    भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको रु ५०० लिइन्छ । एउटा कोठामा तीनवटा शय्या छन् । सादा खानाको रु एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको रु ३०० मूल्य तोकिएको छ ।

    घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ । पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको सल्लाहकार दवाडीले बताउनुभयो । क्षत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोबास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.