सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको अयोध्याधाम बनाउन प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति तयार


  •    न्युजभित्तो/२६ माघ २०७७, सोमबार १०:०५ 
  • चितवन, २६ माघ । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताउनुभयो ।

    उहाँले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।” नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिनुभयो । माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाउनुभएको थियो । प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताउनुभएको थियो । “अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुनेछ, पर्यटकीयस्थल हुनेछ । धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ”, उहाँले भन्नुभएको थियो, “हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।” उहाँले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले भने खासै चासो नदिएको बताउनुभएको थियो ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताउनुभयो । उहाँले औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।”

    नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्नेबारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री माडीमा अयोध्याधाम बनाउन दृढरूपमा लागेको हामीले पाएका छौँ ।”

    नेकपाको ओली समूहका नेत्री पार्वती रावलले प्रधानमन्त्रीले केही दिनभित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताउनुभयो । “राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । उहाँ अब द्रुत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ”, रावलले भन्नुभयो, “चितवनको जनसभामा घोषणा गरेअनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ ।”

    रावलका अनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पार्नुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहनुभएका रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताउनुभयो ।

    माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको १०० बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरङ्ग पैदा गरेको थियो । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री ओलीले गत साउनमा माडीका प्रतिनिधिसँगको भेटमा विसं २०७८ को रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भन्नुभएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान् श्रीरामको जन्मभूमि अयोध्याको विषयमा अनुसन्धान थाल्नुपर्ने बहस शुरु भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.