सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्य शहरबाट होटल रेष्टुराँका सञ्जाल चितवनमा


  •    न्युजभित्तो/३ माघ २०७७, शनिबार १६:०२ 
  • चितवन, ३ माघ । राजधानी र बुटवलमा मीठो खानाका लागि ख्याति कमाएको दियालो फुडल्याण्डले माघ १ गतेदेखि आफ्नो शाखा यहाँ सञ्चालनमा ल्याएको छ । दियालो मात्रै होइन, राजधानी र अन्य शहरमा सञ्चालित होटल तथा रेष्टुराँले आफ्नो शाखा विस्तार गर्दा चितवनलाई रोज्ने गरेका हुन् ।

    पर्यटकीय होटलदेखि पार्टी प्यालेस, कफी सप हुँदै बेकरीसम्मका सञ्जाल (चेन) यहाँ खोल्न थालिएको हो । यसरी आउने मुख्य शहरी क्षेत्रदेखि पर्यटकीय क्षेत्रसम्ममा छन् । मुख्यरुपमा काठमाडौँ र पोखराबाट शाखा सञ्जाल यहाँ विस्तार गर्न थालिएको छ । पोखराको ल्याण्डमार्क, बाराहीदेखि काठमाडौँ गेष्टहाउससम्मले यहाँ पर्यटकीय होटलको शाखा सञ्जाल सञ्चालनमा ल्याएका छन् । चौधरी समूहको मेघौलीमा मेघौली सेराई र भरतपुरमा फर्न चेन होटल पनि यहाँ सञ्चालनमा छन् ।

    त्यसो त काठमाडौँ बेकरी, हिमालयन जाभा, ब्याकफरेष्ट, कट्टी रोल जस्ता बेकरी र क्याफे पनि यहाँ सञ्जालका रुपमा ल्याइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे यहाँको व्यावसायिक सम्भावना बढ्दो भएपछि धेरैको चाहाना शाखा ल्याउने रहेको बताउनुहुन्छ । शाखा विस्तारका क्रममा रोजाइमा चितवन पर्ने गरेको उहाँको भनाइ छ । जङ्गल सफारी पर्यटनमा ख्याति कमाएको चितवनमा आउँदा दिनमा अरु धेरै चेन होटल र रेष्टुराँका सञ्जाल आउने उहाँको भनाइ छ ।

    पर्यटन क्षेत्रमा क्रियाशील विश्व सुवेदी भरतपुरलाई केन्द्र मानेर र अन्य क्षेत्रलाई समेटेर होटल रेष्टुराँका शाखा आउने क्रम बढेको बताउनुहुन्छ । भरतपुर महानगरपालिकाको पर्यटन विज्ञसमेत रहनुभएका सुवेदी यहाँको सम्भावनालाई देखेरै यो क्षेत्रमा लगानी भित्रिने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आउँदा दिनमा यस्तो होटल रेष्टुराँको भविष्य राम्रो देखिन्छ ।” यहाँका होटल रेष्टुराँले पनि आफ्नो चेन भरतपुरबाट अन्यत्र लैजाने गरेको उहाँको भनाइ छ ।

    विगतमा बसाईका हिसाबले सस्तो मानिने चितवन पछिल्लो समय खर्चिलो शहरका रुपमा विकास हुँदै गएको छ । विवाह, व्रतबन्ध, जन्मदिनसँगै अन्य घरायसी समारोह पार्टी प्यालेस र होटलमा गर्नेक्रम बढ्दो छ । यस्तैलाई मध्यनजर गर्दै ठूला सभा समारोहमा खाना र सभाहल व्यवस्थापनमा नाम कमाएको दियालो फुडल्याण्डले आफ्नो चौथो शाखा भरतपुरमा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–२ विक्रम मार्गस्थित यसअघि कालिका कस्ट्रक्सन रहेको ठाउँमा दियालोको चौथो शाखा सञ्चालनमा ल्याइएको हो ।

    काठमाडौँको वसुन्धरा, शेषमती र बुटवलपछि भरतपुरमा अर्को शाखा सञ्चालनमा ल्याइएको हो । दियालो फुडल्याण्ड चितवन प्रालिका अध्यक्ष खोमराज खरालका अनुसार दुई हजार कुर्सी अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ तीन हजार ५०० जनालाई खाना खुवाउने गरी कार्यक्रम गर्न सकिने उहाँको भनाइ छ । यससँगै होटलमा १९ वटा कोठा र १२० जना क्षमताको आकर्षक रेष्टुराँ रहेको छ । कोठा डिलक्स र सुपरडिलक्स सुविधाका छन् ।

    फुडल्याण्डमा ठूलो सभाहलसँगै १०० गाडी र २०० मोटरसाइकल अट्ने क्षमताको पार्किङ रहेको छ । साना गोष्ठी र कार्यक्रमका लागि सभाकक्ष पनि रहेका छन् । खरालले फुडल्याण्डभित्र बाल उद्यान र आधुनिक कटेज पनि रहेको बताउनुभयो । दियालो समूहका अतिरिक्त स्थानीय साझेदारसहितको रु १० करोड लगानीमा फुडल्याण्ड सञ्चालनमा ल्याइएको हो । दियालो समूहमा चितवन, काठमाडौँ र बुटवलका व्यवसायी रहेका छन् । फुडल्याण्डका प्रबन्ध सञ्चालक जनप्रकाश चापागार्इंले जिल्लामा सबैभन्दा ठूलो हल र उच्चस्तरको खाना एवं व्यवस्थापन गर्न सकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो समूहसँग ठूला कार्यक्रम व्यवस्थापन गर्नसक्ने अनुभव छ ।”

    पाँचतारे होटलको गुणस्तरको खाना खुवाउनसक्ने उहाँले बताउनुभयो । सभा समारोहमा क्याटरिङ प्रतिप्लेट रु एक हजार २०० देखि एक हजार ८०० सम्म लिने गरी दररेट तय गरिएको चापागाईंले जानकारी दिनुभयो ।

    उहाँले थप्नुभयो, “हामीले सफलता प्राप्त गर्नुको पछाडि स्वस्थकर र स्वादिष्ट खाना हो ।” उहाँ काठमाडौँको अनुपम फुडल्याण्डको सञ्चालकसमेत हुनुहुन्छ । दियालो फुडल्याण्डमा पाँचतारे होटलमा काम गरेको अनुभव भएका सेफलाई शेयरसहित राखिएकाले खानाको गुणस्तर उच्च रहेको चापागाईंको भनाइ छ ।

    दश वर्षअघि पहिलो शाखा वसुन्धराबाट शुरु गरेको यो समूहको दोस्रो शाखा २०७५ मा बुटवलमा र २०७६ मा तेस्रो शाखा शेषमतीमा खोलिएको थियो । इटहरी र पोखरामा थप दुई शाखा सञ्चालन गर्न लागेको जनाउँदै विसं २०८० सम्ममा १० वटा पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बाह्र जनाबाट शुरु भएको फुडल्याण्डमा अहिले ३५ जना साझेदार पुगेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.