सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान


  •    न्युजभित्तो/२६ आश्विन २०७७, सोमबार १६:०२ 
  • नारायण अधिकारी
    चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

    नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उहाँको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् ।

    तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् ।

    पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताउनुभयो । देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए । सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताउनुभयो । उत्पादन नै बढी हुँदा समस्या भएको उहाँको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उहाँले बताउनुभयो ।

    पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उहाँको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उहाँले बताउनुभयो । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउनुहुन्छ ।

    नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिनुभयो । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

    पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उहाँको भनाइ छ ।

    कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा रु ६५ बाट घटेर रु २० देखि ३० मा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउछन् ।

    नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रु २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।

    पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । रु २१ प्रतिकिलोको मकै रु २८ र रु ६० को भटमास रु ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ । नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पु-याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.