सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका युवा उद्यमी : जो आफ्नो मेहनतले उद्यमी बने


  •    न्युजभित्तो/२८ श्रावण २०७७, बुधबार २०:५० 
  • नारायण अधिकारी
    चितवन । परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि सफल भएका छन् ।

    नेपालका प्रायः नागरिकमा पूर्खाहरुले गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको देखिन्छ । नेपाली समाजमा रोजगारीको अवस्था हेर्दा शिक्षक तथा कर्मचारीका छोराछोरी आफ्नै आमाबुबाकै पेशामा लाग्नेहरु धेरै भेटिन्छन् । तर पुख्र्यौली परम्परालाई पर छाडेर उद्योगतर्फ लाग्ने युवाहरु भने थोरै मात्र भेटिन्छन् । ती थोरै मध्येका चितवनका केही केही युवा छन् जो अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् ।

    भरतपुर महानगरपालिका वडा नं १० निवासी दिनुप बराल जिल्ला शिक्षा अधिकारीका छोरा हुनुहुन्छ । उहाँको बुबा लामो समय विद्यालयको प्रधानाध्यापक हुनुभयो । तर दिनुप भने आफ्नो शुरुवाती जीवन नै उद्योगतर्फ लगाउनुभयो । निर्माण व्यवसायबाट उद्यमी बन्नुभएका बरालको भरतपुर महानगरपालिका वडा नं ४ मा इको पोलिमर उद्योग छ । जुन उद्योगले पानी ट्याङ्की, पिपिआर पाइप, पाइप फिटिङ, प्लाष्टिकका भाडा उत्पादन गर्दछ । यस उद्योगमा रु ५० करोडभन्दा बढी लगानी भएको बराल बताउनुहुन्छ ।

    उहाँको उद्योगमा ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । नौ वर्षअघिबाट युवा उद्यमी बरालको यो उद्योग सफलरुपमा चलिरहेको छ । उहाँले भन्नुभयो, “मेरो त सानैदेखि उद्योग गर्नुपर्छ भन्ने ध्यान थियो ।” बुबाले पनि उद्यमी बन्न आफूलाई प्रेरणा दिएको बराल बताउनुहुन्छ । रोजगारीबाट आफूलाई मात्रै हुने तर उद्योगले अरुलाई पनि रोजगारी दिनसक्ने भएकाले आफ्नो ध्यान उद्योगतर्फ गएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकका युवा उद्यमी लक्ष्मण अर्याल पनि नेपालका एक सुपरिचित उद्यमी हुनुहुन्छ । उहाँ जस्मिन पेन्टस्, जगदम्बा प्लाष्टिक, सन केमिकल, एभोकार्डो इन्टरनेशनल, टाटा मेटल एण्ड क्राफ्ट, निसिका फाउण्डेशन लगायतका संस्थासँग आबद्ध हुनुहुन्छ । पुख्र्यौली व्यापारतर्फ नलागी अर्याल उद्योग क्षेत्रमा लाग्नुभयो ।

    एभोकार्डो व्यापार र फाउण्डेशन सामाजिक संस्था हुन् भने अन्य उद्योग हुन् । उहाँको दरबार फुड्स ‘नामक’ उद्योग पनि सञ्चालनको तयारीमा छ । जस्मिन एकल कम्पनी हो भने अन्य साझेदारी कम्पनी हुन् । अर्यालका अनुसार यी सबै कम्पनीमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको छ । आफ्नो २५ वर्षको उद्यमी जीवनलाई सफल मान्नुहुने उहाँले सानैबाट उद्योगमा आकर्षण भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफू मात्रै नभएर देशका लागि केही दिन उद्योग नै गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ ।” देशलाई आत्मनिर्भर बनाउन उद्योगको विकास गर्नुपर्ने अर्यालको जोड छ । आफूले आम्दानी गरेको केही हिस्सा फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।

    तेह्र वर्षको रोजगारीपछि उद्योगमा आउनुभएका शंकरप्रसाद कँडेल चितवनको कुखुरापालन ९पोल्ट्री० क्षेत्रको एउटा चिनिएको नाम हो । आफ्ना पाका पुर्खा परम्परागत कृषि खेती भए पनि युवा उमेरदेखि नै कँडेल उद्योगतर्फ आकर्षित हुनुभयो । उहाँको जीवनको १३ वर्षको जागिरे अनुभव अहिलेको आफ्नो उद्योगका लागि सहयोगी भएको महसुस उहाँको छ । अनमोल फिड्स प्रालि ९कुखुराको दाना उद्योग० सँगै ह्याचरी पनि सञ्चालनमा छन् । सामूहिक व्यापारमा लाग्नुभएका कँडेलको समूहले रु एक अर्बभन्दा बढी उद्योगमा लगानी गरेको छ ।

    कँडेलले भन्नुभयो “जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ ।” देशैभर दाना पु¥याउँदै आएको अनमोलले धेरै किसानलाई स्वरोजगार बनाएको कँडेल बताउनुहुन्छ । तपाई कसरी उद्योगमा आउनु भयो रु भन्ने प्रश्नमा उहाँको जवाफ छ, “काम सिक्दै गएपछि साथीभाई मिलेर उद्योग गर्ने सोचको विकास भयो ।”

    उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल तीन वटा उद्योगका मालिक हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं १५ निवासी पौडेलका लाइभ केयर फर्मास्युटिकल्स, हाइड्रो केयर इन्टरनेशनल, रोज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग रहेका छन् । यसैगरी प्रिकेयर ‘इन्टरनेशनल’ नामक व्यापार कम्पनी पनि छ उहाँको । यी कम्पनीहरुमा रु ४० करोडभन्दा बढी लगानी भएको उहाँले जानकारी दिनुभयो ।

    यी उद्योगहरुमा उहाँले नै नेतृत्व गर्नुहुन्छ र केही साझेदारहरु पनि रहेका छन् । पन्ध्र वर्षअघिदेखि उहाँका यी उद्योग सफलरुपमा चलिरहेका छन् । बुबा शिक्षक भएकाले पढाइमा उहाँको ध्यान गयो । तर पढाई् पूरा गरेसँगै उहाँले रोजगारी त गर्नुभयो त्यसबाट अनुभव सँगालेर उद्योगतर्फ लाग्नुभयो । पौडेलले भन्नुभयो, “मैले शुरुमा तीन वर्ष छ महिना रोजगारी गरेँ, त्यहीँबाट सिकेको सीपले उद्योग खोल्न सहज भयो ।”

    उद्योग खोल्नुअघि ‘लाइभ केयर’ नामक कम्पनीसँगै मल्टिनेशनल कम्पनीमा पनि छोटो समय उहाँले रोजगारी गर्नुभयो । तत्कालीन त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट कृषिमा स्नातक गर्नुभएका पौडेलले पछि अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो । यो पढाइले उहाँलाई रोजगारतर्फ नलगी उद्योगी बनायो । उहाँले भन्नुभयो, “पढाइ सकेर घरमै कृषि कर्ममा लागेको थिएँ, साथीभाइले रोजगारीमा ल्याए, रोजगारीले उद्योगी बनायो ।”

    पछिल्लो समय आधुनिक पोल्ट्री व्यवसायमा लाग्नुभएका रत्ननगरका बिनोद पोखरेलको पुख्र्यौली पेशा ठेक्कापट्टा हो । तर अहिले उहाँले आफ्नो परिचय नेपालको चिनिएको पोल्ट्री व्यवसायी बनाइसक्नुभएको छ । रत्ननगरमा किसान दाना उद्योग र दाउन्ने भेट फर्मा उहाँकै नेतृत्वमा चलेको छ । नवलपरासी ९सुस्ता त्रिवेणीपूर्व० को बिनय त्रिवेणी गाउँपालिकामा उहाँको ठूलो कुखुरा फर्म छ । जहाँ दाउन्ने एग्रोफर्म, किसान एग्रो फर्म र एड्भान्स पोल्ट्री फर्म पनि सञ्चालनमा छन् । यस क्षेत्रमा मात्रै रु एक अर्ब ५० करोडभन्दा बढी लगानी भएको पोखरेल बताउनुहुन्छ ।

    पोल्ट्री क्षेत्रका व्यवसायीहरुको साझेदारी रहेको यस कम्पनीको नेतृत्व पोखरेलले गर्दै आउनुभएको छ । विगत २७ वर्षदेखि आफू पोल्ट्री क्षेत्रको उद्योगी हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले आफू स्वतन्त्र भएर काम गर्नका लागि जागिर नरोजी उद्योगतर्फ लागेँ ।” यसबाट धेरैलाई रोजगारी दिन पाएकामा खुशी लागेको भन्दै उहाँले निरन्तर मेहनत ग¥यो भने सफल भइन्छ भन्ने आफूले अनुभव गरेको सुनाउनुभयो । नेपालमा अहिले अण्डाको सबैभन्दा ठूलो व्यापारीका रुपमा पोखरेल चिनिनु हुन्छ ।

    कलिलो उमेरमा विदेश गएकाहरु पनि स्वदेश फर्किएर उद्योगमा लाग्नेहरुको सङ्ख्या ठूलो छ । युवा उद्यमी एवं उद्योग वाणिज्य महासंघ वाग्मतीका उपाध्यक्ष राजन गौतम पुरानो पेशालाई निरन्तरता दिनेभन्दा नयाँ उद्यमी बन्नेक्रम बढेको बताउनुहुन्छ । पछिल्लो १० वर्षको अवधिमा युवामा अब नेपालमा सहज वातावरण बन्छ भन्ने लागेर उद्योगतर्फ आकर्षित हुनेको संख्या बढेको उहाँको भनाइ छ ।

    गौतमले भन्नुभयो, “उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नैपर्छ भन्ने भावनाका साथ लाग्नेहरुको सङ्ख्या पनि ठूलो छ ।” विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रेमिट्यान्सलाई उद्योगमा लगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ ।” बैंकहरुले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको गौतमको अनुभव छ ।

    सफल यी युवा उद्यमीहरु युवालाई जागिरमाभन्दा सानै भए पनि उद्योगतर्फ लाग्न आग्रह गर्नुहुन्छ । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उहाँहरुले विदेश जाने खर्चले त नेपालमै सानोतिनो उद्योग शुरु गर्न सकिने बताउनुहुन्छ । उहाँहरुको भनाइ छ “एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट शुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्ज्वल छ ।” नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने सुझाव उहाँहरुको छ ।

    चितवन उद्योग सङ्घको तथ्याङ्कअनुसार जिल्लामा दुई हजारभन्दा बढी उद्योग रहेका छन् । ती उद्योगमध्ये ७० प्रतिशत पुख्र्यौली नभएर नयाँ युवाले सञ्चालन गरेका हुन् । चितवन जिल्लाको यो तथ्यले पनि उद्योग गर्ने युवा वर्गको जमात बढ्दै गएको देखिन्छ । स्वदेशमै केही गरौँ भन्ने भावनाले यसरी युवाहरुले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखिदिए भने मात्र देशमा समृद्धि सम्भव छ ।

    यसले हातमा सीप र जाँगर भएका युवाहरुलाई पनि स्वदेशमै रोक्न सक्नेछ र देशमा साना तथा घरेलु हुँदै ठूला उद्योगहरुको सम्भावना पनि बढ्दै जानेछ । यसरी समृद्धि उद्यमबाट मात्र सम्भव छ भन्ने तथ्य देशव्यापी बनाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय युवा दिवसको आजको अवसरले नेपालका युवाहरुलाई यही सन्देश दिन सकोस् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.