चितवन । लकडाउनको समयमा बजारमा बिक्रि गर्ने राम्रो प्रबन्ध नहुँदा देशभित्र किसानले लगाएको तरकारी कतै बारिमै कुहिएर गएको छ भने कतै किसानले जोतेर नष्ट गर्न थालेका छन् । तर विभिन्न नाका हुँदै भारतबाट रातारात भित्रिइरहेको छ । फलस्वरुप उपभोक्ताले महङ्गोमा तरकारी किन्न बाध्य हुनुपरेको छ ।
भारतसँगका नाकाबाट रातारात मिलेमतोमा उच्च विषादी प्रयोग गरेको भारतीय तरकारीका सयौँ गाडी नेपाल प्रवेश गर्ने गरेका हुन् । किसानहरुले यसलाई रोक्न माग गरेपनि रोकिन सकेको छैन । भारतीय नाकामा ‘सेटिङ’ गरेर तरकारीका गाडी छिराउने गरेको स्रोतले बताएको छ । यसले नेपाली किसानको ढाड सेकिएको छ ।
केन्द्रदेखि प्रदेश सरकार र स्थानीय तहलेसमेत कृषि उत्पादनलाई व्यवस्थित रुपमा उपभोक्ताकोमा पुर्याउन कुनै योजना बनाउन नसक्दा किसानहरु मारमा परेका हुन् । उपभोक्ताले नेपालमै उत्पादित तरकारीलगायत कृषि उपजलाई प्राथमिकता दिने गरेका भएपनि तिनै तहका सरकारले लकडाउनको समयमा उत्पादिन वस्तु विक्रिको लागि सम्वेदनशील नबन्दा नेपाली किसानले निकै ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
व्यवसायिक खेतीका लागि अधिकांश कृषकले ऋण लिएर काम गर्ने गरेका छन् । तरकारीलगायत कृषि वस्तु नोक्सान हुँदा कृषकहरु ऋणको बोझमासमेत परेका छन् । तरकारी बिक्रि गरेर घर चलाउनुपर्ने किसानहरु पनि अब कसरी घर व्यवहार चलाउने भन्ने तनाबमा परेका छन् ।
फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनका अध्यक्ष मदन सापकोटाले कोरोनासँगै लकडाउनका कारण तरकारी नबिकेको बताउनुभयो । जिल्लामा बिक्री गर्न नदिए पनि भारतीय बजारबाट भने तरकारी आइरहेको उहाँको भनाइ छ ।
अर्कोतर्फ पूर्वी चितवनमा दुई जना कोभिड–१९ सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताउनुभयो ।
सो सहकारीबाट तीन सय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारीको बजार काठमाडौँ, बुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरीदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमा नै सड्न थालेको उहाँको भनाइ छ । उत्पादित तरकारीमध्ये केही काठमाडौँको कालीमाटी पठाइएको भए पनि बिक्री हुन छाडेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, पश्चिम चितवनका कृषकले लगाएको तरकारी पनि बारीबाट उठ्न सकेको छैन । केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले तरकारी बिक्री हुन छाडेपछि किसानले तरकारी भएको बारी नै जोताउन थालेको बताउनुभयो । यस क्षेत्रमा चार सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीले मात्रै ६२ बिगाहा क्षेत्रफलमा सामूहिक तरकारी खेती गरेको छ ।
तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदा र तरकारी खरीद गर्ने व्यवसायी नआउँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी बिक्री नहुँदा चिन्ता बढेको छ ।” कृषकले लागत मूल्यसमेत नराखी बिक्री गर्दा पनि तरकारी बिक्री हुन नसकेको उहाँको भनाइ छ । अहिले तरकारी खेती गर्ने किसान दयनीय अवस्थामा पुगेका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण कृषक पनि त्रसित र व्यवसायी पनि त्रसित हुँदा तरकारी बारीबाट उठ्न सकेन ।”
गत साता पूर्वी चितवनको राप्ती नगरपालिकाका एकै परिवारका आमाछोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आइसोलेशनमा रहेका छन् ।
जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष हरि थापाले बजार सञ्चालन नहुँदा तरकारी बिक्री गर्न नसकिएको बताउनुभयो । राज्यले तरकारी बजार र अन्य अत्यावश्यक वस्तुका बजारहरु सञ्चालन गर्नुपर्ने थापाले बताउनुभयो ।
संस्थाका सचिव रामचन्द्र रेग्मीले गण्डकी प्रदेशमा चितवनको तरकारी बन्देज नै लगाइएको बताउनुभयो । कोरोना सङ्क्रमण देखिएपछि मुग्लिनबाट नै पोखरातर्फ तरकारी जान छाडेको उहाँले जानकारी दिनुभयो । नबिकेपछि कृषकले बोडी, घिरौँला र भेँडे खुर्सानी जोत्न थालेका छन् ।
भारतमा २२ हजार मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने ६ सय ८६ जनाको मृत्यु भएको छ । त्यही देशबाट सेनिटाइज नगरीकन सयौँ ट्रक तरकारी नेपाल ल्याएर बिक्रि वितरण भइरहेको छ, जसलाई व्यवहारमै पूर्णरुपमा रोक लगाउनु आवश्यक छ । तर नेपालको अवस्था त्यस्तो होइन । प्रशस्त सतर्कता अपनाउन आवश्यक भएपनि तरकारीको मुख्य उत्पादन क्षेत्रबाट बजारमा पुग्न हुन नसक्दा एकातर्फ उपभोक्ताले भारतबाट आयातित तरकारी महङ्गोमा खरीद गर्न बाध्य भइरहेका छन् भने अर्कोतर्फ आफ्नै देशको उत्पादन नष्ट हुँदा किसानहरुको ढाड सेकिएको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा सात हजार ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । अहिले तरकारी उत्पादनका लागि राम्रो समय भएको कार्यालयका प्रमुख राजन ढकालले बताउनुभयो । जिल्लामा वार्षिक ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ । अहिले कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेसँगै तरकारी खेती गरेका किसानको बारीमा तरकारी खेर जान थालेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण देखिएपछि अझै समस्या बढेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “तरकारी बोकेका सवारीलाई सरकारले आवागमनमा असहज बनाएको छैन तर तरकारी व्यवसाय गर्ने व्यवसायी खरीदका लागि आउन नसक्दा समस्या भयो ।” जिल्लामा काउली, बन्दा गोलभेँडा, गाजर, मूला, हरियो साग, काँक्रो, लहरे तरकारी लगायतका तरकारी लगाइँदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन, पार्वतीपुर, चितवनका निवर्तमान अध्यक्ष बालिका गिरीका अनुसार व्यवसायिक तरकारी खेती गरिएको कूल क्षेत्रफलको ७० प्रतिशत जग्गा किसानले भाडामा लिएर खेती गर्दै आएका छन् । चितवनको भरतपुर–२३, जगतपुरमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका उहाँ अरु बालीको तुलनामा तरकारी छोटो अवधिमा उत्पादन हुने भएकोले बढि स्याहार गर्नुपर्ने, दैनिक वा एक दिन बिराएर फल टिप्न कामदारलाई लागत बढि लाग्ने, नटिपे बाली त्यसै खेर जाने भएकोले यतिबेला बजार अभावका कारण पेशा धराशायी हुने अवस्था रहेको बताउनुहुन्छ।
उपभोक्ताले उच्च मूल्य तिरेर खानु परिरहेको अवस्थामा कोरोनाभाइरसबाट सुरक्षित रहने उपाय अवलम्बन गरि निश्चित परिमाणको तरकारीको सय/दुई सय रुपैयाँको प्याकेट बनाई अन्य राहतसँगै बाँड्न सके धेरै हदसम्म समस्याको समाधान हुने उहाँको विचार छ । मानिसलाई स्वस्थ रहन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि ताजा तरकारी पनि आवश्यक हुने भएकोले राहतमा तरकारी पनि वितरण गर्दा उपभोक्ता र किसान दुवैको हित हुने उहाँको भनाई छ । ‘हामी यो लकडाउन अवधिमा थुनिएर बस्यौँ, उपभोग र विक्रि वितरणको कुनै उपायको अनुभव लिन सकेनाैँ । अझै पनि यो कति लम्बिने हो निश्चित छैन । तसर्थ केही परिमाणमा भएपनि देशभित्र उत्पादित तरकारी खपत गर्न तसर्थ यस्तै कुनै उपाय अपनाउने कि ?’ उहाँको सुझाव छ । किसानको बारीबाट उपभोक्तासम्म सहज रुपमा पुर्याउन र उपभोक्ताले उचित मूल्यमा प्राप्त गर्नका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने गिरीको धारणा छ ।
तरकारी उत्पादक किसानहरुले बजारमा तरकारी ढुवानी र बिक्रिका लागि सहजीकरण गरिदिन तथा अहिलेको अप्ठेरो परिस्थितिलाई मध्यनजर गरी किसानहरुलाई राहत, क्षतिपूर्ति दिन केन्द्र, प्रदेश सरकार र स्थानीय तहसँग माग गरेका छन् । किसानहरु पेशाबाट विस्थापित हुँदा राज्यलाई नै नोक्सानी हुने भएकोले उनीहरुलाई अहिलेको अवस्थामा राहत, क्षतिपूर्ति दिन आवश्यक भएको किसानहरुको भनाई छ ।
जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घ, चितवनका सचिव रामचन्द्र रेग्मीले बजारको उचित प्रबन्ध गर्न नसक्दा बिक्रि नभएपछि किसानले फालेका तरकारीका तस्विरसहित आफ्नो फेसबुकमा स्टाटस लेख्नु भएको छ :
चितवनको भरतपुर– १८, २४, २५, २६ वडामा तरकारी बिक्रि नभएर फालिएको दृष्य हो यो । सम्बन्धित निकाय बिना अनुगमन डङ्का पिट्छन् फाल्नु परेको छैन भनेर । यो पीडा सम्पूर्ण चितवनका व्यावसायिक कृषकको पीडा हो । यो विपत्ति पछि पनि कृषक र कृषिको बिकल्प छैन । तर किन सबै पानी माथिको ओभानो बन्न खोज्ने ? सधैँ मार सहन किसान तयार रहनु पर्ने ? बिना तथ्यको डाटामा योजना बनाउने हो ? हाल नेपालमा उत्पादन भएको तरकारीले देशको माग ७५/८० प्रतिशत धान्छ । चितवन, धादिङ, काभ्रे, दाङ, बारा, मकवानपुर सबैतिर तरकारि उत्पादन छ तर हाम्रो उत्पादन खेतबारीमा कुहियर जाँदा पनि भारतीय तरकारी भित्रिई रहेको छ । यो पीडा कहिले सम्म ?
तस्विर : पश्चिम चितवनमा बिक्रि नभएपछि किसानले फालेका तरकारी । जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, चितवनका सचिव रामचन्द्र रेग्मीको फेसबुक पेजबाट ।