सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान


  •    न्युजभित्तो/२० श्रावण २०८३, बुधबार १६:३१ 
  • काठमाडौँ, २० साउन । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ ।

    लाभग्राहीमध्ये छ जना भूमिहीन दलित, ५८ जना भूमिहीन सुकुमवासी र ३३ जना अव्यवस्थित बसोबासो भएका छन् । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गत जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गरेको थियो ।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन तथा सुकुमवासीका समस्या समाधानमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । उहाँले लाभग्राहीको पहिचानदेखि जग्गा वितरणसम्मको प्रक्रियामा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक भएको बताउनुभयो ।

    समितिका सूचना अधिकारी सञ्जीवकुमार साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ मा तीन जना भूमिहीन दलित र ३१ जना भूमिहीन सुकुमवासी गरी ३४ जनालाई यही साउन ८ गते ३५ हजार ४८८.३१ वर्गमिटर क्षेत्रफलका ३४ कित्ता जग्गाको जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

    त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–४ मा दुई जना भूमिहीन दलित र २७ जना भूमिहीन सुकुमवासी गरी २९ जनालाई साउन १८ गते ३९ हजार १६२.५१ वर्गमिटर क्षेत्रफलका ३२ कित्ता जग्गाको पुर्जा वितरण गरिएको छ ।

    झापाको बुद्धशान्ति गाउँपालिका–४ मा पाँच जना अव्यवस्थित बसोबासीलाई गत असार २९ गते आठ कित्ता जग्गाको पुर्जा प्रदान गरिएको छ । उक्त जग्गाको कूल क्षेत्रफल चार हजार ३६०।२८ वर्गमिटर रहेको छ ।

    झापाकै अर्जुनधारा नगरपालिका–११ मा साउन ७ गते १७ जना अव्यवस्थित बसोबासीलाई १७ वटा जग्गाधनी पुर्जा वितरण गरिएको छ । कनकाई नगरपालिका–४ मा एक जना भूमिहीन दलित र चार जना अव्यवस्थित बसोबासी गरी पाँच जनालाई साउन ८ गते १५ हजार ६२३।७३ वर्गमिटर क्षेत्रफलका सात कित्ता जग्गाको पुर्जा प्रदान गरिएको समितिले जनाएको छ ।

    डडेलधुराको अजयमेरु गाउँपालिका–२ मा साउन १६ गते सात जना अव्यवस्थित बसोबासीलाई दुई हजार ४८२.२३ वर्गमिटर क्षेत्रफलका सात कित्ता जग्गाको पुर्जा वितरण गरिएको छ ।

    समितिका अनुसार उदयपुर, कञ्चनपुर, बर्दिया, धनुषा, डडेलधुरा, सर्लाहीलगायतका जिल्लामा पहिचान भएका ६०० भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निकट भविष्यमा जग्गाधनी पुर्जा प्रदान गर्ने तयारी भइरहेको छ ।

    यसअघि सरकारले २०७७ सालमा भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७८ सालमा राष्ट्रिय भूमि आयोग र २०८१ सालमा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । ती आयोगमार्फत नौ हजार ९३७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो भने त्यसका लागि रु दुई अर्ब १९ करोड खर्च भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    • आकस्मिक बाढीको आज मध्यम जोखिम
    • बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.