सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता


  •    न्युजभित्तो/११ श्रावण २०८३, सोमबार १७:३४ 
  • कर्णाली, ११ साउन । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक–दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।

    विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् । ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति गरेको सुनाउनुभयो । “चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो । चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो । आज बल्लतल्ल ग्यास पाइयो । धेरै ठूलो युद्ध जिते जस्तो महसुस भएको छ । आजदेखि खाना पकाएर खान पाइने भइयो”, उहाँले भन्नुभयो ।

    चौधरी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्‍यो । यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तित्व र सहज पहुँच नभएका नागरिकहरू प्रभावित भएका छन् ।

    पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको वीरेन्द्रनगर नगरपालिका(९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामी आइतबार बिहान ५ः०० बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अँझै पालो आएको छैन । बेलुका खाली सिलिण्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरी लाइनमा बस्न आउँछौँ । राति खाली सिलिण्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति रु २० तिर्ने गरेका छौँ । आज पनि ग्याँस पाउने हो कि होइन थाहा छैन ।”

    यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्याँस वितरण गरिएको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो । तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ । यो निकै ठूलो परिमाण हो । यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ ।”

    प्रमुख घिमिरेका अनुसार सुर्खेतमा एलपी ग्यासको अभाव छैन । बरु अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट सङ्कलन गरी भण्डारण गरेर राखेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन÷अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अभाव छैन, अभाव गराइएको छ । यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्”, उहाँले भन्नुभयो ।

    कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आउनुभएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात घर फर्कनुपरेको पीडा पोख्नुभयो । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिदा पीडा हुने गरेको उहाँले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आइएको बताउनुभयो । ग्यास अभावका विषयमा ‘के भएको हो’ सोबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.