सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य


  •    न्युजभित्तो/१ श्रावण २०८३, शुक्रबार १३:१३ 
  • इलाम, १ साउन । कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट आधुनिक पर्यटकीय केन्द्रमा रूपान्तरण भएको अन्तुमा अहिले दैनिक औसतमा दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।

    स्थानीय धनकुमार आलेका अनुसार विगतमा अन्तुडाँडामा अधिकांश मानिस धार्मिक उद्देश्यले आउँथे । उनीहरू कलशमा चोखो पानी बोकेर उदाउँदो सूर्यलाई अर्घ चढाउँथे र भाकल पूरा भएको विश्वास गर्दै फर्कन्थे । अहिले भने पर्यटक सूर्योदयको दृश्य हेर्ने, तस्बिर तथा भिडियो खिच्ने, अन्तुपोखरीमा घुम्ने र साङ्गीतिक मनोरञ्जनमा रमाउने उद्देश्यले आउने गरेका छन् ।

    अन्तुमा पर्यटक आउन थालेको विसं २०४० को दशकबाट हो  । तत्कालीन सांसद सरस्वती राई, भगवती दास (श्रेष्ठ) र सोमनाथ बाँस्तोला लगायतले संसद्मा अन्तुको पर्यटन विकासको विषय उठाएपछि तत्कालीन जिल्ला पञ्चायतले गेस्टहाउस निर्माणका लागि बजेट विनियोजन गरेको थियो । विद्युत् नपुगेको त्यसबेला लालटिनको उज्यालोमा पर्यटकलाई बास र खानाको व्यवस्था गरिन्थ्यो ।

    स्थानीय धनकुमार आलेले २०५२ सालमा साधुसन्तलाई लक्षित गरी ‘पेइङ गेस्ट’ सञ्चालन सुरु गर्नुभएको थियो । सुरुमा रु २० मा खाना र बासको व्यवस्था गरिएको थियो । विसं २०५७ मा इलामबाट आएको पर्यटन प्रवर्द्धन टोलीले स्थानीयलाई घरबास (होमस्टे) सञ्चालनमा प्रोत्साहित गरेपछि अन्तुमा व्यवस्थित ग्रामीण पर्यटनको विस्तार हुन थालेको उहाँको अनुभव छ ।

    पत्रकार तथा लेखक मोहन मैनालीले तीन दशकअघि देखेको अन्तु र अहिलेको अन्तुबीच ठूलो परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार पहिले गोरेटो बाटो, चियाबारी र सीमित घरमात्र रहेको गाउँ अहिले होटल, कटेज, सडक र पर्यटकीय पूर्वाधारले भरिएको सहरजस्तो बनेको छ । उहाँले स्थानीय अर्थतन्त्र पनि उल्लेख्य रूपमा चलायमान भएको बताउनुभयो ।

    अन्तुको अर्को प्रमुख आकर्षण ‘अन्तुपोखरी’ हो । अहिले डुङ्गा सयर र ‘फिसिङ’का लागि चर्चित यो पोखरी चार दशकअघि भैँसी चरन क्षेत्रका रूपमा प्रयोग हुन्थ्यो । स्थानीय खगराज घिमिरेका अनुसार त्यतिबेला वरपर जङ्गल, सडक वा बस्ती थिएन र दिउँसै सुनसान हुने क्षेत्र अहिले रातभर उज्यालो रहने पर्यटकीय केन्द्रमा परिणत भएको छ ।

    पोखरी संरक्षणको अभियान २०४० सालतिर सुरु भएको थियो । स्थानीयको सक्रियता र जिल्ला पञ्चायतको सहयोगमा पोखरी संरक्षण, पर्खाल निर्माण र पानी व्यवस्थापन गरियो । विसं २०५९ मा अन्तु पर्यटन विकास केन्द्र दर्ता भएपछि सरकारी बजेटबाट थप पूर्वाधार निर्माण भयो । त्यसपछि भारतको मिरिकबाट डुङ्गा ल्याएर बोटिङ सेवा सुरु गरिएको थियो । पछि कोलकाताबाट आफ्नै डुङ्गा खरिद गरियो ।

    विसं २०६२र६३ तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालनको औपचारिक शुभारम्भ गर्नुभएको थियो । अहिले डुङ्गा सेवा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।

    सङ्घीयता कार्यान्वयनपछि सूर्योदय नगरपालिकाले अन्तुमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । पूर्वनगरप्रमुख रणबहादुर राईका अनुसार अन्तुपोखरी, अन्तुडाँडा, सडक, पदमार्ग, प्रकाश व्यवस्था, सौन्दर्यीकरण र अन्य पूर्वाधार निर्माणमा करिब रु पाँच करोड खर्च गरिएको छ । यसअघि हिलाम्मे रहेका पदमार्ग, अव्यवस्थित भ्यूटावर र अपुग सडक पहुँचलाई व्यवस्थित बनाइएपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको उहाँले बताउनुभयो ।

    हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले अन्तु क्षेत्रमा सौन्दर्यीकरण, सडक ढलान, फुटट्रेल, घेराबारा तथा सडक विस्तारको काम गरिरहेको सब–इन्जिनियर प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

    अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार अहिले दैनिक करिब ८०० देखि दुई हजारसम्म पर्यटक अन्तु पुग्ने गरेका छन् । सङ्घमा आबद्ध होटल, कटेज र होमस्टे गरी ११० वटा तथा सामुदायिक होमस्टे ५० वटा छन्, जसमध्ये ३५ वटा नियमित सञ्चालनमा छन् । पर्यटन व्यवसायबाट करिब ३१० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    हाल अन्तुपोखरीमा चार वटा डुङ्गा सञ्चालनमा छन् । एउटा डुङ्गामा चार जना बस्न मिल्छ भने पोखरीको एक फन्को लगाउन प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । नगरपालिकाले यसबाट नियमित राजस्व सङ्कलन गर्दै आएको छ ।

    अन्तुडाँडा सूर्योदय र सूर्यास्त अवलोकनका लागि विशेष परिचित छ । भदौ अन्तिमदेखि सुरु हुने झुल्केघामको मौसम पुस–माघ हुँदै वैशाखसम्म रहने गर्दछ । मौसम खुलेका दिन यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खला, कन्याम, झापा, दार्जिलिङ, मिरिक र सिलिगुडीको मनोरम दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

    तराईका गर्मी क्षेत्र तथा भारतको पश्चिम बङ्गालबाट बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक अन्तु पुग्ने गरेका छन् । अध्ययन भ्रमणमा आउने विद्यार्थी समूहसमेत यहाँ नियमित आउने गरेका छन् ।

    कार्यवाहक सूर्योदय नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार नगरपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाइरहेको छ । अन्तु र कन्यामका साथै नगरपालिकाभित्रका अन्य प्राकृतिक, कृषि, धार्मिक, सांस्कृतिक तथा जैविक विविधतायुक्त क्षेत्रलाई पनि क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.