सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार ११:४९ 
  • मध्यविन्दु (नवलपरासी), ३१ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् । विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन ।

    पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन् । ब्लक र टिनले बनेका साँघुरा कोठा, सीमित खुला ठाउँ र आधारभूत पूर्वाधारको अभावबीच उनीहरूको दैनिकी बितिरहेको छ ।

    स्थायी बसोबासको आशा गर्दै बितेका पाँच वर्षले अहिले उनीहरूमा निराशा बढाएको छ । दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेका विस्थापित परिवारका सदस्यहरू वर्षायाम सुरु भएसँगै फेरि पानी र सर्पको त्रासमा रात बिताउन बाध्य छन् ।

    स्थानीय तिलबहादुर सोमै मगरले अस्थायी शिविरमै वर्षौँ बित्दा स्थायी घर पाउने आशा क्रमशः क्षीण बन्दै गएको बताउनुभयो । “केही समयका लागि भनेर राखिएको शिविरमै पाँच वर्ष बित्यो, हरेक वर्ष वर्षा सुरु भएपछि फेरि त्यही त्रास दोहोरिन्छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई सुरक्षित राख्न निकै कठिन छ । हामीलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गरिदिए पुग्थ्यो”, उहाँले भन्नुभयो ।

    पहिरोअघि विस्थापित परिवारसँग प्रतिघर एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, घर र पशुपालनको आधार थियो । पहिराले घरमात्र होइन, उनीहरूको जीविकोपार्जनको आधारसमेत बगायो । अहिले अधिकांश परिवार दैनिक मजदुरीकै भरमा जीवन धानिरहेका छन् ।

    स्थानीय दिलमाया सोमै मगरले पहिरोले गाउँ नै भासिएको दृश्य अझै आँखाबाट नहटेको बताउनुभयो । “पहिरोपछि यही शिविरमा आएर सुत्केरी भएँ । मेरो बच्चा यहीँ हुर्किएर अहिले पाँच वर्षको भयो”, उहाँले भन्नुभयो, “तर हाम्रो स्थायी घर बन्ने कुरा अझै अन्योलमै छ । कहिलेसम्म अस्थायी जीवन बिताउने भन्ने चिन्ता छ ।”

    खेमबहादुर सोमै मगरले आफूहरूको समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुन नसक्दा विस्थापितले सास्ती खेप्नुपरेको बताउनुभयो । “सरकारले प्रक्रिया अघि बढेको भन्छ, तर हाम्रो जीवन भने यही अस्थायी टहरामै बितिरहेको छ”, उहाँले भन्नुभयो ।

    हुप्सेकोट गाउँपालिकाले स्थायी पुनःस्थापनाका लागि आवश्यक सबै प्रक्रिया वर्षौँअघि नै पूरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । तर पुनःस्थापनाका लागि आवश्यक निर्णय गृह मन्त्रालयबाट नआउँदा काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

    “पहिरो विस्थापितको स्थायी आवास निर्माणका लागि गाउँपालिकाले आफ्नो तर्फबाट आवश्यक प्रक्रिया पूरा गरिसकेको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “तर गृह मन्त्रालयबाट आवश्यक निर्णय हुन नसक्दा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन । निर्णयप्राप्त हुनेबित्तिकै निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिका तयार छ ।”

    उहाँका अनुसार हुप्सेकोट गाउँपालिकाका–५ र ६ का अधिकांश पहाडी बस्ती अहिले पनि पहिरो र भूक्षयको उच्च जोखिममा छन् । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै ती क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रासमा बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.