सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव


  •    न्युजभित्तो/२८ असार २०८३, आईतवार १५:१० 
  • काठमाडौँ, २८ असार । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय  वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । 

    राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।

     मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन ।

    संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिनुभएको थियो । शनिबार उहाँले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिनुभयो ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७।५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी यहीँ प्रशोधन गरी राजधानीमा वितरण गरिन्छ । यसका साथै वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण हुँदै आएको छ तर पानीको स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित खानेपानी सेवाबाट वञ्चित छन् ।

    कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल जानुपर्ने र पानी भर्ने  पालोको प्रतीक्षामा दुई घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता सुनाउनुभयो । “धारामा सधैँ लामो लाम हुन्छ, घण्टौँको प्रतीक्षा पछिमात्र पालो आउँछ,” उहाँ दुखेसो पोख्नुहुन्छ । 

    सोही वडाका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन नहुँदा संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।

    गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको स्वीकार गर्नुभयो ।

    स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ । उहाँले केन्द्रको शीघ्र मर्मत गरी स्थानीय बासिन्दालाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन माग गर्नुभयो ।

    केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा समस्या पुरानो वितरण प्रणालीका कारण भएको बताउनुभयो । पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उहाँले जानकारी दिनुभयो ।

    यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गर्नुभयो । उहाँका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको छ। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
    • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
    • वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै
    • खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.