सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १०:५४ 
  • सिद्धार्थनगर (भैरहवा), २४ असार । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । ठूलो सङ्ख्यामा पर्यटक आउँदा पनि अधिकांशले लुम्बिनीमा एक रातसमेत बिताउँदैनन् । केही घण्टामात्र भ्रमण गरी फर्किने प्रवृत्तिले यहाँको पर्यटनबाट अर्थतन्त्रले अपेक्षित लाभ लिन सकेको छैन ।

    विशेषगरी भारतबाट आउने धार्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गरेर केही घण्टामै स्वदेश फर्किन्छन् । नेपालका अन्य भागबाट आउने पर्यटकको अवस्था पनि उस्तै छ । उनीहरू मायादेवी मन्दिर र आसपासका केही क्षेत्र घुमेपछि अर्को गन्तव्यतर्फ लाग्छन् । यसले लुम्बिनीलाई केवल ‘दर्शनस्थल’मा सीमित बनाएको छ । ‘बसाइ र अनुभव गर्ने गन्तव्य’का रूपमा विकास गर्न अझै चुनौती देखिएको छ ।

    पर्यटनविद्हरूका अनुसार लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सकिए यस क्षेत्रको होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला, कृषि, सांस्कृतिक कार्यक्रम र स्थानीय रोजगारीमा ठूलो आर्थिक प्रभाव पर्न सक्छ । त्यसका लागि बुद्ध जन्मस्थलसँगै आसपासका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्यलाई एउटै पर्यटन पथमा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनी नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय पर्यटन ब्रान्ड हो । “हामीले बुटवल, भैरहवा वा अन्य सहरलाई अलग–अलग रूपमा होइन, ‘लुम्बिनी’को ब्रान्डलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय बजारमा एउटै पहिचान बनाएर अघि बढ्न सके गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनदेखि पर्यटक आगमन बढाउनसमेत सहज हुनेछ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख दयानिधि शर्माले लुम्बिनी धार्मिक तीर्थस्थलमात्र नभई विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा र मानव सभ्यताको अध्ययन, अनुसन्धान केन्द्रका रूपमा विकास हुनुपर्ने बताउनुभयो ।

    उहाँका अनुसार शिक्षा, अनुसन्धान, ध्यान, संस्कृति र पर्यटनलाई एउटै अवधारणामा जोड्न सके लुम्बिनीको अन्तरराष्ट्रिय महत्व अझ उचाइमा पुग्नेछ ।

    लुम्बिनी विकास कोषका सदस्यसचिव ज्ञानीन राईले लुम्बिनीलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तरराष्ट्रिय साझेदारबीच समन्वित प्रयास अपरिहार्य रहेको बताउनुभयो । उहाँले पूर्वाधार विस्तारसँगै गुणस्तरीय पर्यटन सेवा, अन्तरराष्ट्रिय प्रचारप्रसार र नयाँ पर्यटन उत्पादन विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    पछिल्ला वर्षमा लुम्बिनी क्षेत्रमा चार र पाँचतारे होटल, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधारमा उल्लेख्य लगानी भएको छ । तर पर्यटकको बसाइ अवधि छोटो भएकाले ती लगानीले अपेक्षित प्रतिफल पाउन सकेका छैनन् । पर्यटन व्यवसायी अहिलेको सबैभन्दा ठूलो आवश्यकता नयाँ होटल निर्माणभन्दा पनि पर्यटकलाई लुम्बिनीमा एक वा दुई रात बस्न प्रेरित गर्ने पर्यटन क्षेत्रको विकास गर्नु रहेको बताउँछन् ।

    यसै उद्देश्यले निजी क्षेत्रले भारतका बनारस, बोधगया, दिल्ली र लखनउका ट्राभल एन्ड टुर अपरेटरसँग प्रत्यक्ष सहकार्य सुरु गरेको छ । लुम्बिनी–बनारस बीटुबी ट्राभल मार्ट तथा फ्याम ट्रिपमार्फत धार्मिक र सांस्कृतिक पर्यटनको साझा बजार विस्तार गर्ने प्रयास गरिएको छ । व्यवसायीहरूका अनुसार यस्ता कार्यक्रमले अन्तरराष्ट्रिय बजारमा लुम्बिनीको पहुँच विस्तार गर्न सहयोग पुग्नेछ ।

    पर्यटन क्षेत्रका जानकारहरु लुम्बिनीको विकास अब केवल बुद्ध जन्मस्थलको संरक्षणमा मात्र सीमित नराखी ‘ग्रेटर लुम्बिनी’ अवधारणाअनुसार तिलौराकोट, देवदह, रामग्राम, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, सांस्कृतिक गाउँ, ध्यान केन्द्र, ग्रामीण पर्यटन र स्थानीय उत्पादनलाई एउटै पर्यटन सञ्जालमा जोड्नुपर्ने सुझाव दिनुहुन्छ ।

    लुम्बिनीमा पर्यटक ल्याउनुमात्र सफलता होइन, उनीहरूलाई केही दिन बस्न बाध्य बनाउने वातावरण सृजना गर्नु नै अबको सबैभन्दा ठूलो चुनौती रहेको उहाँहरुको भनाइ छ ।

    विश्वले बुद्ध जन्मस्थललाई चिनेको हुँदा लुम्बिनीलाई अनुभव गर्ने गन्तव्यका रूपमा स्थापित गर्न सकेमा पर्यटनले दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्ने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.