सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठमेलमा बढे भारतीय पर्यटक


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १७:१२ 
  • काठमाडौँ, २३ असार । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ ।

    प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरू आउने गरेका छन् । केही समययतादेखि काठमाडौँको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् ।

    विशेष गरी काठमाडौँमा अधिकांश भारतीय पर्यटकहरू रहने भनेको पशुपतिनाथ क्षेत्रमा हो । तर यसबाहेक पनि स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौँ दरबार क्षेत्रमा रहेका सम्पदा र स्थलहरूको भ्रमणमा पनि उनीहरू उत्तिकै रमाउने गरेका छन् ।

    तर पछिल्लो समय भने काठमाडौँ आएका भारतीय पर्यटकहरूको केन्द्र ठमेल पनि बन्न थालेको छ । उनीहरूले यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकलालगायतका सामग्रीहरूको किनमेलमा पनि उनीहरू रमाउने गरेका छन् ।

    ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताउनुहुन्छ । “भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल र क्लबहरू भरिभराउ भएका छन्, यो ठमेलका लागि खुसीको कुरा हो,” उहाँ भन्नुहुन्छ ।

    काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको बताउनुहुन्छ ।

    “काठमाडौँभित्रको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटकहरू धेरै रहेका छन्,” उहाँ भन्नुहुन्छ । उहाँ काठमाडौँमा आउने धेरै भारतीय पर्यटक पशुपति, गौशाला क्षेत्रमा बस्ने गरे पनि ठमेलमा पनि हिजोआज भारतीय पर्यटकको चहलपहल राम्रो रहेको बताउनुहुन्छ ।

    नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो । ठमेलभित्र मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाल, भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्य रहेका छन् ।

    सन् २०२५ मा विदेशबाट नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ पर्यटकमध्ये छिमेकी मुलुक भारतबाट मात्र २५।२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२६ को ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये छिमेकी मुलुक भारतबाट मात्र एक लाख ७२ हजार ४८१ पर्यटक नेपाल भित्रिएका छन् ।

    भारतबाट जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएका हुन् ।

    नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप कार्की नेपाल पर्यटन बोर्डको वार्षिक नीति तथा कार्यक्रम भारत केन्द्रित गरेका कारण नेपालमा भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ । नेपालले गएको एक वर्षमा भारतका मुख्य बजारमा २४ वटा पर्यटन प्रवर्द्धनसम्बन्धी मार्ट सञ्चालन गरेको उहाँको भनाइ छ ।

    यस्तै, पर्यटन बोर्डले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका मुख्य नाकाहरूमा नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीयहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

    यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण भारतमा गर्मी ह्वात्तै बढेको र गर्मी छल्नका लागि पनि भारतीय पर्यटकहरू नेपाल आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको आगमनले पर्यटकीय राजधानी पोखराका होटलसमेत भरिभराउ भएका छन् ।

    पोखराको सराङकोटमा सञ्चालित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धिताल पछिल्लो समय भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाएको बताउनुहुन्छ । आफ्नो रिसोर्टमा बढी मात्रामा भारतको उत्तर प्रदेश र विहारबाट पर्यटक आउने गरेको उहाँको भनाइ छ । नेपाल र भारतको खुला नाकाका कारण सिद्धार्थ राजमार्ग हुँदै पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ बढी मात्रामा भारतीयहरू जाने गरेका छन् ।

    नेपाल घुम्न आएका पर्यटकहरूमध्ये अधिकांश पर्यटक मुक्तिनाथ, पशुपतिनाथलगायतका मठमन्दिर घुम्न आउने गरेका छन् । धार्मिक पर्यटनका रूपमा यहाँ भारतीय तीर्थयात्रीहरू आउने गरेका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.