सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:३३ 
  • लमजुङ, २३ असार । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ ।

    बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ ।

    अघिपछि भन्दा सार्वजनिक बिदाका दिन पर्यटकको सङ्ख्या दोब्बर हुने गरेको छ । बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको करिब एक सय मिटर अग्लो उक्त झरना सहज पहुँचका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ । स्थानीयका अनुसार गत वर्ष साउनपछि मात्रै त्यहाँ हेर्न आउनेको चहलपहल बढ्न थालेको हो । यस वर्ष असार लागेसँगै पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ ।

    स्थानीयका अनुसार मौसम अनुकूल रहे आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्न सक्नेछ । अग्लो पहराबाट झरिरहेको कञ्चन पानी तलको प्राकृतिक पोखरीमा खस्दा सृजना हुने मनमोहक दृश्यले जोकोहीलाई आकर्षित गर्दै आएको छ । झरनाबाट उड्ने पानीका सङ्ला छिटा घामको किरणसँग ठोक्किँदा देखिने सप्तरङ्गी इन्द्रेणीले सौन्दर्यलाई थप मनमोहक बनाएको छ ।

    पछिल्लो दिनमा झरनाको फेदीसम्म पुगेर फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र पोखरीमा पौडी खेलेर रमाउने पर्यटकको भीड बढेको छ ।

    लमजुङका साथै मनाङ, गोरखा, कास्की, तनहुँ, चितवनलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका स्थानीयको भनाइ छ । तनहुँबाट आउनुभएकी पार्वती तामाङले आफूले सुनेको र सोचेको भन्दा झरना अझ सुन्दर लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “गर्मीमा यहाँको चिसो पानीमा पौडी खेल्न, फोटो र भिडियो खिच्न तथा साथीभाइसँग रमाउन निकै आनन्द आयो ।”

    झरना घुम्न आउनुभएका सृजना श्रेष्ठ, लक्ष्मण गुरुङ, सन्तोष थापा र युनिक गुरुङलगायतले गाईखुरे झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउनुभयो ।

    त्यहाँ झरना र प्राकृतिक पोखरीको अवलोकनका साथै पौडी खेल्न र साहसिक खेल क्यानोनिङ सञ्चालन गर्ने सम्भावना छ । नगरपालिकाका सूचना अधिकारी दिपेश घिमिरेका अनुसार चालु आर्थिक वर्षमा रु नौ लाखको लागतमा झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

    उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाईखुरे झरनालाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने तथा क्यानोनिङ र र्याफ्टिङ सञ्चालन गर्ने योजना रहेको छ ।

    बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गरी पर्यटक आकर्षित गर्न केही वर्षअघि नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भए पनि काम हुन नसक्दा पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ भएकाले यही मार्ग हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन् ।

    यस्तै, मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरना, बुङ झरना तथा वडा नं। ८ भुलभुलेस्थित हामखोला झरनामा पनि पर्यटकको चहलपहल बढेको छ । बेँसीसहर–चामे सडक हुँदै मनाङ जाने आन्तरिक तथा विदेशी पर्यटकले ती झरनामा समेत अवलोकन गर्ने गरेको मस्र्याङ्दी गाउँपालिका अध्यक्षका स्वकीयसचिव प्रदीप गुरुङले बताउनुभयो । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको आगमन अझ बढ्ने तथा स्थानीय व्यवसायसमेत फस्टाउने विश्वास व्यक्त गर्नुभयो ।

    प्राकृतिक सौन्दर्य, सहज पहुँच, बढ्दो आन्तरिक पर्यटकको आकर्षण तथा सरकारी लगानीसँगै गाईखुरे झरना लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयको विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.