सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सजाइँदै टुटेश्वरनाथ मन्दिरः रङ्ग्याइँदै कैलाश


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १२:४४ 
  • महोत्तरी, २३ असार । भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको सरसफाइ र सजाउने कार्य सुरु भएको छ ।

    ‘मधेसको कैलाश’ भनिने मन्दिर वरपरका चुरेथुम्कामा रहेका रुखसमेत विभिन्न रङरोगन गरी कलात्मक रूपमा सजाइँदैछ । साउने मेलामा पुग्ने श्रद्धालुलाई विशेष अनुभूति गराउन साजसज्जा, रङरोगन र सरसफाइका कामलाई यस वर्ष विशेष रूपमा अघि बढाइएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

    सौरमास र चन्द्रमास गणनाअनुरुप साउनभरि यहाँ धार्मिक मेला लाग्ने परम्परा छ । तर यसपालि भने साउन १ गतेदेखि सुरु हुने त्यस मेला साउन पूर्णिमा अर्थात् भदौ १२ गतेसम्म सञ्चालन हुनेछ ।

    “यहाँ वर्षभरि नै टाढाटाढाबाट श्रद्धालु आइरहन्छन्, तर प्रत्येक साउनमा विशेष मेलाको हुन्छ”, समितिका अध्यक्ष राजाराम यादव भन्नुहुन्छ, “साउनको पनि सोमबार विशेष मानिन्छ, मेलालाई विशेष तुल्याउन यस वर्ष पनि पहिलेदेखि नै साजसजा, रङरोगन र सरसफाइका काम बढाएका छौँ ।”

    भगवान् शिवको बासस्थान कैलाश मानिने र टुटेश्वरनाथ मन्दिर चुरेस्थित पहाडी थुम्कामा अवस्थित हुँदा शिवको बासस्थानसँग जोडेर हेरिने गरिएको छ । “यो ठाउँ त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले तपस्या गरेका सन्दर्भसँग जोडिएको छ”, टुटेश्वरका बासिन्दा पूर्वीय दर्शन परम्पराका जानकार यतिराज काफ्ले भन्नुहुन्छ, “प्राचीन शिवलिङ्ग रहेको मान्यताले मन्दिर अवस्थित पहाडी थुम्कोलाई शिवको बासस्थानसँग जोडेर मधेसको कैलाश भनिने गरिएको हो ।”

    भारतको देवघरस्थित वैद्यनाथ धामलाई पुकारिएझैँ टुटेश्वरनाथलाई पनि ‘नेपालको बाबाधाम’ भनिने गरिएको काफ्लेको भनाइ छ । पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमिटर वन क्षेत्र छिचोलेर पुग्न सकिन्छ ।

    “माण्डवीगङ्गा नदी किनार, चारैतिर सघन वन, पहाडी शृङ्खला र सदाबहार सुगन्धित फूलको बासनाले जोसुकैलाई विशेष अनुभूति दिन्छ”, टुटेश्वरनाथ महादेवको उद्भवबारे नै स्नातकोत्तर तहको सोध गर्नुभएका पत्रकार राजकरण महतो भन्नुहुन्छ, “त्रेता र द्वापर युगसँग जोडिएको सन्दर्भबारे विस्तृत चर्चा हुनसकेका छैनन्, यसबारे तीनै तहका सरकारबीचको समन्वयले काम बढ्न जरुरी छ ।”

    यसअघि २०५२ सालमै टुटेश्वरनाथ मन्दिरको संरक्षणमा स्थानीय चासो दिएपछि मधेस प्रदेश सरकारले पनि पछिल्लो समय पूर्वाधार विकास र संरक्षणमा सहयोग पुर्याएको छ । मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह र पर्यटनमन्त्री सकिल मिँयाले पनि त्यस क्षेत्रको अवलोकन गर्नुभएको थियो । पछिल्लो समय उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न प्रयास भइरहेको छ ।

    त्यस ठाउँको संरक्षण र प्रचारका लागि स्थानीयस्तरमा समुदायबाट भइरहेका प्रयत्न सकारात्मक भए पनि थप पहल आवश्यक रहेको स्थानीयको भनाइ छ ।

    दर्शन गर्न त्यहाँ पुग्नुभएकी हेटौँडाको बासामाढीकी तुलसा काफ्ले न्यौपाने भन्नुहुन्छ, “यो आस्था र विश्वासको थलो हो । राज्यको चासो र उपस्थितिले थप भरोसा जाग्न सक्छ ।” त्यस मन्दिरमा महाशिवरात्रि र बालाचतुर्दशीमा पनि विशेष मेला लाग्दै आएको छ । त्यस मन्दिरमा बागमती र कोशी प्रदेश तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशसम्मका श्रद्धालु भक्तजन ठूलो सङ्ख्यामा आउने गरेको पाइएको छ ।

    मन्दिरअवस्थित थुम्को परिसर वरपर असङ्ख्य सर्प देखिए पनि सर्पदंशका घटना कहिल्यै नभएका मन्दिरका पुजारी सिरी राय बताउनुहुन्छ । महादेवको दर्शन र प्रार्थनाले मनोकाङ्क्षा पूरा हुने, सद्भाव बढ्ने र शान्तिको अनुभूति मिल्ने गरेको गौशाला–४ रजखोरका ७५ वर्षीय वासुदेव महतो बताउनुहुन्छ ।

    महतो माण्डवीगङ्गा, स्वर्णमति र वरुणवति नदीको त्रिवेणी सङ्गममा जल बोकेर २०४० सालदेखि १८ किलोमिटर घस्रेर पार गर्दै शिवलिङ्गमा जल चढाउँदै आउनुभएको छ । मन्दिर क्षेत्रको विकास र संरक्षणमा स्थानीयको चासोलाई राज्यले सम्बोधन गर्नुपर्ने महतोको सुझाव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.