धुव्रतारा कृषि सहकारीद्वारा अर्गानिक लौकाखेती विस्तार
न्युजभित्तो/२१ असार २०८३, आईतवार १७:००
कञ्चनपुर, २१ असार । सीप, सामूहिकता र मेहनतको संयोजनले कृषि समृद्धिको भरपर्दो आधार बन्न सक्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रस्तुत गरेको छ । सहकारीले सञ्चालन गरेको व्यावसायिक अग्र्यानिक लौकाखेतीले आम्दानीसँगै स्थानीय युवालाई रोजगारी दिनुका साथै सदस्यलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको हो ।
सहकारीले १० कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरी रहेका छन् । यहाँ उत्पादित लौका सहकारीले दैनिक दुई क्विन्टलभन्दा बढी बेच्दै आएको छ । हालसम्म १२ क्विन्टलभन्दा बढी लौका बिक्री गरी रु ३६ हजार आम्दानी भएको सहकारीका प्रबन्धक ललिता पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बजारमा प्रतिकिलो रु ३० देखि रु ३२ सम्ममा सहजै बिक्री भइरहेको छ ।
“प्राङ्गारिक मल र सुरक्षित विषादी प्रयोग गरी उत्पादन गरिएको लौकाको बजारमा माग बढी छ”, प्रबन्धक पन्तले भन्नुभयो । उहाँका अनुसार निड्ससँगको सहकार्यमा सञ्चालित कृषि पाठशालाले सहकारीका सदस्यलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न तालिमसँगै सीप विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
कृषि पाठशालामा माटो छनोट, खेत तयारी, बेर्ना उत्पादन, मल व्यवस्थापन, सिँचाइ तथा लहरे बाली व्यवस्थापनसम्बन्धी व्यावहारिक तालिम दिइएको थियो । सिकेको सीप व्यवहारमा उतारेपछि अपेक्षाभन्दा राम्रो उत्पादन प्राप्त भएको पन्तले बताउनुभयो ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरले सदस्यहरूलाई आयआर्जनमुखी कृषिमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लौकाखेती सुरु गरिएको बताउनुभयो । “राम्रो उत्पादन र आम्दानीपछि अन्य सदस्य पनि व्यावसायिक कृषि गर्न उत्साहित भएका छन् । गाउँमै बसेर कृषि व्यवसायमार्फत स्वरोजगार बन्न सकिने विश्वास बढेको छ”, उहाँले भन्नुभयो ।
लौकाखेतीका लागि सहकारीले दुई स्थानीय युवालाई रोजगारी पनि दिएको छ । बिक्रीबाट प्राप्त रकम सहकारीको कोषमा जम्मा गरी सदस्यको आयआर्जन बढाउने कार्यक्रममा लगानी गरिने अध्यक्ष ऐरले बताउनुभयो । उहाँका अनुसार बारीमा अझै ४० देखि ६० क्वीन्टलसम्म लौका उत्पादन हुने अनुमान गरिएको छ ।
यसअघि सहकारीले भाडाको एक बिघा क्षेत्रमा चैतेधान, एक बिघामा तोरी र १० कठ्ठामा आलुखेती गरी आम्दानी लिइसकेको छ । साथै सदस्यलाई सहुलियत मूल्यमा मलखाद, बीउविजन र कृषि सामग्री उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाको कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरका अनुसार सहकारीको यो अभ्यासले बचत तथा ऋण कारोबारमा सीमित नरही उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा सहकारीको प्रभावकारी भूमिका देखाएको छ । “सामूहिक प्रयास, सीप र आधुनिक कृषि प्रविधिको उपयोगबाट गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण सहकारीले प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो ।रासस