सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण


  •    न्युजभित्तो/२१ असार २०८३, आईतवार १२:०७ 
  • मध्यविन्दु (नवलपरासी), २१ असार । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

    जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो ।

    “नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो”, उहाँले भन्नुभयो, “सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ ।”

    सूचना अधिकारी खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् । सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.