सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी


  •    न्युजभित्तो/१९ असार २०८३, शुक्रबार १०:५५ 
  • खोटाङ, १९ असार । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।

    बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभयो । “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।”

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर अन्यत्र गएका छन् ।

    वासिङ पहिरोले हुवाला र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिनुभयो । “पहिरो खसेको ठाउँमा पानीको मुहान छ । वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ”, उहाँले भन्नुभयो, “धेरै वर्षा भएको समयमा माथिबाट खसेको पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।”

    वासिङ पहिरोको कारण आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन् ।

    वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिनुभयो । “विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म पहिरो आइसकेको छ”, उहाँले भन्नुभयो, “कुन बेला के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।”

    टाढाबाट हेर्दा डमरु आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति ९गाविस०को वडा नं ८ वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।

    निरन्तर खसिरहने वासिङ पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिनुभयो । “वासिङ पहिरोले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो रोकथाम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

    बोपुङको वासिङ पहिरोले देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिनुभयो । छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.