सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’


  •    न्युजभित्तो/१ मंसिर २०८०, शुक्रबार ११:१४ 
  • महोत्तरी, १ मंसिर। मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।

    मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ । आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । यस पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै खटिएका छन् ।

    श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

    बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

    बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

    मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.